
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका सबै कमिटीमा ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याउने निर्णय गरेको छ। पार्टी पुनर्गठन प्रक्रियालाई महाधिवेशनसम्म पूर्णता दिने योजना नेकपाले बनाएको छ। नेकपाले राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा पहलकदमी लिने निर्णय गरेको छ। १५ वैशाख, काठमाडौं।
नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको आजको बैठकले पार्टीका सबै कमिटीमा ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याउने निर्णय गरेको हो। संयोजक पुष्पकमल दाहाल प्रचण्डले बैठकको समापनमा तत्कालीन योजनाको चार बुँदे रुपरेखा प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई बैठकले अनुमोदन गरेको एक पदाधिकारीले जानकारी दिएका छन्।
प्रचण्डले प्रस्तुत गरेका योजनाको पहिलो अंकमा पार्टी पुनर्गठन समावेश छ। यसमा ‘वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक स्पष्टतासहित पार्टी पुनर्गठन प्रक्रियालाई महाधिवेशनसम्म पूर्णता दिने’ उल्लेख छ। दोस्रो बुँदामा पार्टीका हरेक तहमा निर्वाचित कमिटी गठन गर्ने उल्लेख गरिएको छ। ‘वडादेखि केन्द्रसम्म सानो, चुस्तदुरुस्त निर्वाचित कमिटी बनाउने र त्यहाँ ५० प्रतिशतसम्म युवा तथा नवयुवाहरुलाई नेतृत्वमा ल्याउने निर्णय गरिएको छ,’ ती पदाधिकारीले बताए।
यसैगरी पार्टी पुनर्गठनसँगै सम्पूर्ण कम्युनिष्ट आन्दोलनको पुनर्गठनका लागि वाम एकता र ध्रुवीकरणमा जोड दिने विषय पनि उल्लेख गरिएको छ। संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिबीच साझा समझदारी बनाएर राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा पहलकदमी लिने निर्णय पनि नेकपाले गरेको छ। साथै अन्तर्राष्ट्रिय क्षेत्रमा वैचारिक, राजनीतिक र कूटनीतिक तहबाट योजनाबद्ध तरिकाले पहलकदमी लिने पनि नेकपाको योजना रहेको एक पदाधिकारीले जनाएका छन्।






