Skip to main content

विद्यार्थी संगठन खारेजीबारे नेविसंघ अध्यक्षले कांग्रेसको आधिकारिक धारणा मागे

१५ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी संगठन खारेजीको विषयमा सरकारको निर्णयप्रति नेपाली कांग्रेसको आधिकारिक धारणा मागेका छन्। मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सम्पन्न भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाको सदस्यता अद्यावधिक सम्बन्धी बैठकमा नेविसंघ अध्यक्ष शेर्पाले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

‘सरकारले विद्यार्थी संगठनहरू र विद्यार्थीबाट निर्वाचित स्वायत्त संस्था स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने तयारी गरिरहेको भन्ने खबरहरू आइरहेका छन्। यसबारे विद्यार्थी संगठनहरू आन्दोलित छन्,’ अध्यक्ष शेर्पाले भने, ‘यस विषयमा हाम्रो पार्टीको आधिकारिक धारणा आउनैपर्छ। पार्टीको धारणा के हो ? त्यो स्पष्ट हुनुपर्छ।’

स्ववियुलाई विद्यार्थीहरूको हकहित संरक्षण गर्ने र नेतृत्व विकास गर्ने नर्सरीको रूपमा वर्णन गर्दै शेर्पाले यो कुनै राजनीतिक दलसँग सम्बन्धित संस्था नभएको पनि बताए। कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले सरकारले चाल्ने अलोकतान्त्रिक कदमविरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ छ। त्यस्तै, दुई वर्षअघि पारित भएको भनिएको नेविसंघको नयाँ विधान अहिलेसम्म केन्द्रीय समितिलाई उपलब्ध नगराउनु आपत्तिजनक रहेको अध्यक्ष शेर्पाले बताए।

अध्यक्ष शेर्पाले भदौ २३ को जेनजी आन्दोलन र त्यसपछि बनिरहेका परिस्थितिबारे पनि पार्टीबाट आत्मआलोचनात्मक समीक्षा आवश्यक भएको उल्लेख गरे। ‘जेनजी पुस्तासँग मात्र माफी माग्नु पर्याप्त छैन। वर्तमान परिस्थितिको सिर्जनामा पार्टीका कमजोरीहरू पनि जिम्मेवार छन्, त्यसलाई स्वीकार्दै आफ्ना सक्रिय सदस्यहरूसँग पनि माफी माग्नुपर्छ,’ उनले भने। उनका अनुसार पार्टीको पुनर्संरचनाबिना कांग्रेसले वर्तमान संकटलाई समाधान गर्न सक्ने छैन।