Skip to main content

डोल्पाको त्रिपुरासुन्दरीले सार्वजनिक जग्गा खाली गराउन ४८ घण्टे सूचना सार्वजनिक गर्यो

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले सार्वजनिक सडक र स्थानमा गरिएको अवैध अतिक्रमण हटाउन ४८ घण्टे अन्तिम सूचना जारी गरेको छ। नगरपालिकाले बिना अनुमति भएका संरचना, सामग्री भण्डारण र व्यापार सञ्चालन तुरुन्तै रोकिने आदेश दिएको छ। अतिक्रमण हटाउन नसकेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कारबाही हुनेछ र खर्च अतिक्रमण गर्ने व्यक्ति वा संस्थाबाट वसुल गरिने जानकारी नगरपालिकाले दिएको छ।

१६ वैशाख, डोल्पा। हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले सार्वजनिक सडक र अन्य सार्वजनिक ठाउँमा गरिएको अतिक्रमण हटाउन ४८ घण्टे अन्तिम सूचना जारी गरेको छ। नगरपालिकाले बुधबार एक सूचना मार्फत नगर क्षेत्रभित्रका सडक, फुटपाथ, नाला, चौतारा जस्ता स्थानहरूमा बिना अनुमति संरचना निर्माण, सामग्री भण्डारण र व्यापारिक गतिविधिहरू बढ्दो देखिएकोले कानूनी रूपमा अवैध भएकाले तुरुन्त हटाउन निर्देशन दिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थानेश्वर पनेरुले जानकारी गराए।

उनीले नगर क्षेत्रभित्रका सबै अतिक्रमित सार्वजनिक स्थानहरूमा रहेको अस्थायी र स्थायी संरचना, टहरा, पसल र निर्माण सामग्री ४८ घण्टाभित्र आफैंले हटाउन सबैलाई आग्रह गरेको बताए। तोकिएको समयभित्र अतिक्रमण हटाएन भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कारबाही गरिने चेतावनी नगरपालिकाले दिएको छ। साथै, अतिक्रमण हटाउन लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट वसुल गरिने कुरा नगरपालिकाले स्पष्ट पारेको छ।