Skip to main content

नीति कार्यक्रम र बजेट अध्यादेशमार्फत ल्याउने हो भने सडकमा जान्छौं : एमाले

नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय भनेका छन्। दंगालले भने, “यदि सरकारले आगामी नीति तथा कार्यक्रम र बजेट पनि अध्यादेशबाट ल्याउने हो भने संसद्को औचित्य समाप्त हुनेछ।”

१६ वैशाख, काठमाडौं। दंगालले बुधबार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “सरकारले संसदलाई निष्क्रिय बनाएर अध्यादेशबाटै प्रशासन चलाउने प्रयास गरेको छ।” उनले थपे, “अध्यादेशबाट शासन गर्ने, प्रशासन चलाउने सरकारले जुन अलोकतान्त्रिक र असंसदीय तरिका अपनाएको छ, त्यसप्रति हाम्रो कडा आपत्ति छ।”

दंगालले चेतावनी दिए कि यदि सरकार नीति तथा कार्यक्रम र बजेट समेत अध्यादेशमार्फत ल्याउने निर्णय गर्छ भने विपक्षी दलहरू सडक आन्दोलनमा जाने बाध्यता हुनेछन्। उनले भने, “नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाट ल्याउने हो भने हाम्रो भनाइ केही रहँदैन। त्यसपछि सदनको औचित्य सकिन्छ, हामी सडकमा जानुपर्छ।”

तर उनले विश्वास व्यक्त गरे कि सरकारले नीति तथा कार्यक्रम संसदबाटै ल्याउनेछ। उनले भने, “त्यतिबेला मात्रै अन्तिम निर्णय हुनेछ।”