Skip to main content

यलम्बरको सालिक अनावरण कार्यक्रममा प्रशासनले लगायो रोक

जिल्ला प्रशासन कार्यालय खोटाङले सुरक्षा चुनौतीका कारण यलम्बरको सालिक अनावरण कार्यक्रममा रोक लगाएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १७ वैशाख र वडा कार्यालयले १८ वैशाखमा फरक–फरक मिति र प्रमुख अतिथिसहित सालिक उद्घाटन गर्ने तयारी गरेका थिए। प्रशासनले दुवै कार्यक्रम स्थगन गरी दंगा हुनसक्ने सम्भावना र सामाजिक सद्भावलाई मध्यनजर राखेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताउनुभयो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चरदोबाटोमा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिक फरक–फरक मिति र समयमा उद्घाटनको तयारी गरिएपछि प्रशासनले रोक लगाएको हो। विवादका बीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १७ वैशाखमा र वडा कार्यालय बुइपाले उभौली साकेलाको दिन १८ वैशाखमा यलम्बरको सालिक अनावरण गर्ने कार्यक्रम तय गरेपछि प्रशासनले दुवै दिनको कार्यक्रम स्थगन गराएको हो।

जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार प्रशासनले विवादित कार्यक्रममा ‘हस्तक्षेप’ गरेको हो। सालिक उद्घाटनको विषयमा विभाजित दुवै पक्षबीचमा दंगा हुने सम्भावनालाई मध्यनजर गर्दै सालिक अनावरण कार्यक्रममा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताइन्। शान्ति सुरक्षा, सामाजिक सद्भाव एवं एकतालाई मध्यनजर गर्दै दुवै कार्यक्रम स्थगन गर्न/गराउन सूचित गरिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

वडाध्यक्ष दिनेश राई प्रतिनिधिसभा सदस्य हर्क साम्पाङलाई प्रमुख अतिथि बनाएर यलम्बरको सालिक उद्घाटन गर्ने तयारीमा छन्। नगरपालिकाले कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली र किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचोको उपस्थितिमा सालिक उद्घाटन गर्ने घोषणा गरेको थियो। राजनीतिकरणका कारण एउटै सालिक उद्घाटन गर्न फरक–फरक मिति र फरक–फरक प्रमुख अतिथि तोकिएपछि सालिक उद्घाटन कार्यक्रम विवादित बन्न पुगेको हो।

दर्जनौं चिहानमाथि ठड्याइएको सालिक उद्घाटनलाई नगर र वडा कार्यालयले ‘जुंगाको लडाइँ’ बनाएपछि आपसी द्वन्द्व सिर्जना भएको हो। वडाध्यक्ष राईले भने १८ वैशाखको कार्यक्रम नरोकिने ‘स्टाटस’ लेखेका छन्। कोशी प्रदेशको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत गरि ११ करोड ५८ लाखको लागत साझेदारीमा बुइपामा यलम्बरको सालिकसहितको पार्क निर्माण गरिएको हो। ३० रोपनीभन्दा बढी सरकारी जग्गामा ठड्याइएको सालिक हालसम्म बनेका यलम्बरको सालिकमध्येकै सबैभन्दा अग्लो र ठूलो दाबी गरिएको छ। तर उद्घाटनमा ‘तँछाडमछाड’ भएका कारण निर्माण सम्पन्न भएको वर्ष दिनसम्म पनि यलम्बर पार्क उद्घाटन हुन सकेको छैन। कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीको प्रमुख आतिथ्यतामा २०८२ जेठ १८ गते यलम्बरपार्क उद्घाटन गर्ने तयारी गरिएको थियो। तर कोशी प्रदेशको नामांकनको विषयमा असन्तुष्ट पहिचान पक्षधरको विरोधका कारण उद्घाटन कार्यक्रम रोकिएको थियो। उमा तुवाचुङ अन्सुवी जेभीले एलम्बर पार्क निर्माण गरेको हो। सो कम्पनीले २०७८ असार २८ गते ठेक्का सम्झौता गरेको थियो। आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाले विनियोजन गरेको ७२ लाखबाट बुइपामा पार्कको प्राथमिक चरणका काम सुरु गरिएको थियो। यलम्बरको सालिक तथा यलम्बार पार्क तत्कालिन मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले २०७८ कात्तिक ३ गते शिलान्यास गरेका थिए।