Skip to main content

कांग्रेस सदस्यता नवीकरण र नयाँ सक्रिय सदस्य प्रवेशका लागि एक हप्ताका लागि खुल्ला

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि सक्रिय सदस्यता नवीकरण र नयाँ सदस्य प्रवेशको लागि वैशाख १६ गतेदेखि एक हप्ताका लागि अनलाइन फारम खोल्ने निर्णय गरेको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिले नविकरण शुल्कसहित केन्द्रीय कार्यालयमा नबुझिएका जिल्ला र क्षेत्रका लागि डिजिटल प्रणालीमार्फत सदस्यता नवीकरण र नयाँ प्रवेशको समय दिने निर्णय गरेको हो। वडा सभापतिहरूको रिक्त पद भर्न र सदस्यता अद्यावधिक गर्न जिल्ला, क्षेत्र र केन्द्रीय प्रतिनिधिमार्फत डिजिटल प्रणालीमा सक्रिय सदस्यता अद्यावधिक गर्ने व्यवस्था गरिएको छ।

आज सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो। बैठकमा उल्लेख छ, “१५औँ महाधिवेशनका लागि जिल्ला कार्यसमितिबाट सक्रिय सदस्यताको नवीकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ सक्रिय सदस्यता नेपाली कांग्रेसको डिजिटल प्रणालीमा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाउने जिल्लाहरू छुट्याइने छन्।”

यसका साथै, १५औँ महाधिवेशनका लागि सक्रिय नवीकरण गरी अधिवेशन सम्पन्न गरिसकेका जनसम्पर्क समितिहरू र अधिवेशन हुन नसकेका समितिहरूलाई वर्गीकरण गरी समस्या पहिचान गर्ने र समाधान गर्ने निर्णय पनि गरिएको छ।

अनलाइन सदस्यता भर्ने प्रक्रिया निरन्तरता दिने निर्णय गरिएको छ र यसरी भरेको सक्रिय अनलाइन फारम सम्बन्धित जनसम्पर्क समिति अध्यक्षलाई जानकारी गराइनेछ। अनलाइन सदस्यता खुला गरिएको जानकारी नेपाली कांग्रेसको वेबसाइटमा राखिनेछ।