वैदेशिक रोजगारीमा जाने मजदुरहरुले सेवा शुल्क बैंकिङ प्रणालीमार्फतै तिर्नुपर्ने

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने मजदुरहरुले सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फतै तिर्न अनुरोध गरेको छ। ठगीबाट बच्न र आर्थिक कारोबार पारदर्शी बनाउन विभागले नगद कारोबार नगर्न आग्रह गरेको छ। नगदमा कारोबार गर्दा कानुन अनुसार कारबाही हुने चेतावनी विभागले जारी गरेको छ। १७ वैशाख, काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सेवा शुल्क बैंकिङ प्रणालीमार्फत मात्र बुझाउन जोर दिएको छ। ठगीबाट जोगिन, आर्थिक कारोबार पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न म्यानपावर व्यवसायीलाई सेवा शुल्क वापत रकम अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत बुझाउन निर्देशन दिइएको छ। उक्त रकम बुझाएको प्रमाण, कागजात तथा अनलाइन कारोबारको विवरण सुरक्षित राख्न समेत विभागले अनुरोध गरेको छ। नगदमा कारोबार गर्दा ठगी हुने सम्भावना बढ्ने र प्रमाण जुटाउन कठिन हुने उल्लेख गर्दै विभागले कसैसँग पनि नगदमा कारोबार नगर्न आग्रह गरेको छ। म्यानपावर, तिनका कर्मचारी तथा प्रतिनिधि वा अन्य कुनै व्यक्तिलाई वैदेशिक रोजगारीमा जानका लागि वा वैदेशिक रोजगारी सम्बन्धी कुनै आर्थिक लेनदेन नगदमा नगर्न निर्देशन दिइएको छ। म्यानपावर कम्पनीहरुलाई समेत मजदुरसँग नगद कारोबार नगर्न भनिएको छ। यस्तो नगद कारोबार गरेको खण्डमा कानुन अनुसार कारबाही गरिने चेतावनी विभागले दिएको छ।






