
काठमाडौँका बल्खु, बालाजु र शंखमुल क्षेत्रका सुकुमबासी बस्तीहरू हटाउँदा त्यहाँ आश्रित पशुपन्छीहरू आवासविहीन बनेका छन्। पशु सेवा विभागका वरिष्ठ अधिकृत डा. आभास पौडेलले डोजर चलाउँदा केही पशुहरूमा चोट लागेको र मानसिक स्वास्थ्यमा असर परेको जानकारी दिनुभयो। पशु चिकित्सक टोलीले घाइते पशुको उपचार गरिरहेको छ भने पशु कल्याण संस्थाहरूले दीर्घकालीन व्यवस्थापनका लागि सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन्। १८ वैशाख, काठमाडौं।
काठमाडौँका बल्खु, बालाजु तथा शंखमुल क्षेत्रको नदी किनारमा रहेका सुकुमबासी बस्तीहरू हटाउने क्रममा मानिसहरूको सुरक्षित व्यवस्थापन भइरहेपनि ती समुदायमा आश्रित पशुपन्छीहरू आवासविहीन भएका छन्। सुकुमबासी बस्तीका अधिकांश कुकुर र बिरालो जस्ता प्राणीहरू मानिसहरूको आश्रित हुन् र खाना र आश्रय पाउने गरेका थिए। तर हाल मानिसहरूको स्थानान्तरण हुँदा ती पशुपन्छीहरू बिचल्लीमा परेका छन्।
घर र टहरा भत्कँदा, डोजर चलाउँदा केही पशुहरूमा चोटपटक लागिसकेको छ र यसले पशुहरूको मानसिक स्वास्थ्यमा समेत प्रभाव पारिरहेको छ भनी पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत तथा पशु कल्याण फोकल अफिसर डा. आभास पौडेलले बताएका छन्। आज पशु सेवा विभाग, नेपाल भेटेरिनरी एसोसिएसन, भेटेरिनरी अभ्यासकर्ता संघ नेपाल लगायतका संस्थाहरूबाट खटिएका पशु चिकित्सकहरूको टोलीले घाइते पशुहरूको प्राथमिक उपचार गरिरहेको छ।
टोलीले प्रभावित क्षेत्रमा उद्धार गरिएका र अलपत्र परेका पशुपन्छीहरूको अवस्थाबारे जानकारी लिइरहेको छ। घाइते र बिरामी जनावरहरूको उपचार, आवश्यक औषधि उपलब्धता र व्यवस्थापनको अवस्था समेत मूल्यांकन गरिएको छ। पशुहरूको उद्धार र आहार व्यवस्थापनका लागि स्नेहाज केयर, एनिमल नेपाल, अल फर पावस, टीएफसी नेपाल र क्याट लगायतका पशु कल्याणसम्बन्धी संस्था र पशु अधिकारकर्मीहरू विभागसँग सहकार्य गरिरहेका छन्। तत्काल केही राहत र उद्धार कार्यहरू सञ्चालन गरिए पनि यी क्षेत्रका पशुपन्छीहरूको पुनर्स्थापना र दिगो व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन सरकारले आवश्यक ध्यान दिनुपर्ने उनीहरूले जोड दिएका छन्।






