Skip to main content

एकै परिवारका ९ जनाको दुखान्त: अमेरिका जानुपर्ने सपना र नयाँ घरको सपना अधुरै रह्यो

समाचार सारांश रोल्पाको जलजलामा भएको जीप दुर्घटनामा २० जनाको घटनास्थलमै ज्यान गएको छ भने ९ जना जिसी परिवारका सदस्य पनि मृत्यु भएका छन्। यमबहादुर र द्रोपदा जिसी दम्पती, छोरी युभा र उनका नाति दिव्यनसहित ९ जनाको परिवार पूजाआजामा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेका थिए। जिसी दम्पतीले नयाँ घरमा सर्न नपाउँदै परिवारको यो दुर्घटना भएको छ र छोरी युभा अमेरिका जान लागेको खुसी परिवारमा थियो। १८ चैत, काठमाडौँ। केही दिनमै छोरी अमेरिका उड्ने तयारीमा थिइन्, उता गाउँमा भर्खरै बनाएको नयाँ घरमा सर्ने उत्साह थियो। यही खुसी मनाउन र मौसमको भाकल बुझाउन घोराही उपमहानगरपालिका-१५ रत्नपुरका यमबहादुर र द्रोपदा जिसी दम्पती आफ्नी छोरी, बुहारी र नातिनातिनी सहित ९ जनाको परिवार लिएर घरबाट निस्किएका थिए। उनीहरूले शुक्रबार परेको चण्डीपूर्णिमाको विशेष अवसर रोजेका थिए। तर पूर्णिमाको अघिल्लो दिन भएको सडक दुर्घटनाले उनीहरूको यो खुसी जीवनमा कालो बादल झारेको छ। शुक्रबार रोल्पाको जलजलामा हुने पूजाआजामा सहभागी हुन जिसी दम्पतीसहित सवार जिप रुकुमकोटबाट जलजला तर्फ हिँडेको थियो। २१ जनालाई बोक्ने उक्त जीप थबाङ गाउँपालिका–१ र ४ नं. क्षेत्रको डाँडामा दुर्घटना भयो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार वर्षातका कारण बाटो चिप्लिएकोे हुँदा जीप दुर्घटना भएको र जिपमा रहेका २० जनाको घटनास्थलमै मृत्यु भएको छ भने जिसी परिवारका ९ जना सदस्यले समेत ज्यान गुमाएका छन्। भाकल बुझ्न जाँदा लागेको दुर्घटना छिमेकी र आफन्त मालती थापाका अनुसार पूर्वप्रहरी यमबहादुर र उनकी श्रीमती द्रोपदा घोराही–१५ रत्नपुरमा बस्दै आएका थिए। उनकी छोरी २८ वर्षीया युभा बिसीकी श्रीमान् दीपक बुढाथोकी अमेरिकी ग्रिनकार्ड होल्डर हुन्। युभा वैशाख २९ मा श्रीमान् दीपकलाई भेट्न अमेरिका जाने तयारीमा थिइन्। जिसी परिवारमा एकैपटक दुईटा खुसी थपिएको थियो। पहिलो, छोरी अमेरिका जान लागेको खबर। दोस्रो, लामो समयपछि नयाँ घरमा सर्ने योजना। सो खुसी मनाउन यमबहादुर सपरिवार दर्शनका लागि जलजला तर्फ जाँदै थिए। साथै, युभाका देवर बिरामी रहेकोले स्वास्थ्यलाभको भाकल बुझाउन पनि उता जाँदै थिए। ‘छोरी युभा अमेरिका जान लागेकोले परिवारमा खुसी थियो,’ मालतीले भनिन्, ‘तर एकैपटक परिवार एउटा शोकमय चिहानमा परिणत भयो।’ यमबहादुर, द्रोपदा, छोरी युभा र उनका १० वर्षे नाति दिव्यन बिसीले ज्यान गुमाए। त्यस्तै, जस्सी दम्पतीकै बुहारी तिला विष्ट जिसी र उनका दुई छोराछोरी ७ वर्षे जेनिस र १२ वर्षीया जनिसाको पनि मृत्यु भयो। तिलाका श्रीमान् गोविन्द जिसी हाल अमेरिका मा छन्। उनीहरूकै २५ वर्षीया छोरी एलिना जिसी र उनका ७ वर्षका छोरा संयोग जिसीले पनि ज्यान गुमाए। एलिनाका श्रीमान् अहिले इटालीमा छन्। नयाँ घरमा सर्न नपाउँदै परिवार सदाको लागि अस्तायो यमबहादुर जिसी दम्पतीले घोराहीकै रत्नपुरमा भर्खर नयाँ घर बनाएका थिए। पहिले उनीहरू सानो घरमा बस्दै आएका थिए। छिमेकीका अनुसार जिसी परिवारले धेरै मेहनत गरेर त्यो ठुलो घर बनाएका थिए। केही दिनमै दम्पती त्यो नयाँ घरमा सर्न लागेका थिए, तर नयाँ घरमा बस्न नपाउँदै बिहीबार उनको परिवारले सदाको लागि बिदा लिए। छिमेकी मालती थापाका अनुसार जिसी परिवार टोलकै सुखी र खुसी मानिन्छ। उनका अधिकांश छोरा–ज्वाइन विदेशमा छन्, छोरी पनि अमेरिका जान लागेको खुसी थपिएको थियो। उनले भनिन्, ‘केही दिन अघि हाँस्दै रमाउँदै गएको परिवार यसरी फर्किएला भनेर कसले सोच्ने थिय र? यो घटना पत्याउन गाह्रो छ। यो घटनाले पुरै गाउँलाई शोकमग्न बनाएको छ।