Skip to main content

नेपाली कांग्रेसले नयाँ सदस्यता प्रणालीमार्फत पुराना सदस्यता खारेज गर्ने निर्णय गर्यो

नेपाली कांग्रेसले २५ चैतमा सबै पुराना क्रियाशील सदस्यता खारेज गरी नयाँ सदस्यता प्रणालीमार्फत अद्यावधिक गर्ने निर्णय गरेको छ। संस्थापन इतर समूहले सदस्यता अद्यावधिकलाई विधानविपरीत र ऐतिहासिक योद्धाहरूको अपमान भन्दै विरोध जनाएका छन्। कांग्रेसले सदस्यता अद्यावधिकका लागि फारम भर्ने, फोटो खिच्ने र कांग्रेस आईडी वितरण गर्ने प्रक्रिया अनिवार्य गरेको छ।

१८ वैशाख, काठमाडौं। १५औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद चरमचुलीमा पुगेको छ। नेतृत्वले पार्टीलाई ‘डिजिटलाइज’ र सुदृढीकरण गर्ने भन्दै नयाँ सदस्यता प्रणाली ल्याउन खोज्दा संस्थापन इतर समूहले यसलाई विधानविपरीत र ऐतिहासिक योद्धाहरूको अपमान भन्दै विद्रोहको संकेत गरेको छ। सभापति गगनकुमार थापाले २५ चैतमा मधेश प्रदेशमा आयोजित प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रममा सबै पुराना क्रियाशील सदस्यता खारेज भएको घोषणा गर्दै नयाँ प्रक्रियाबाट सदस्यता अद्यावधिक गर्नुपर्ने घोषणा गरेपछि विवादले उग्र रूप लिएको हो।

कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनका सम्पूर्ण क्रियाशील सदस्यता अद्यावधिकका लागि गरेको निर्णयबारे जानकारी दिँदै उनले मधेश झरेर क्रियाशील सदस्यता खारेजको घोषणा गरेका थिए। ‘अस्तिको केन्द्रीय समितिको निर्णयबाट हामीले नेपाली कांग्रेस पार्टीको सबै क्रियाशील सदस्यता खारेज गरेका छौं,’ मधेश प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सभापति थापाले भनेका थिए, ‘सबै खारेज भयो। अब क्रियाशील सदस्यता छैन।’ १०–११ चैतमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ‘पार्टी सदस्यता अभिलेख अद्यावधिकसम्बन्धी विशेष व्यवस्था र अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो।

बैठकको ५ नम्बर निर्णयमा भनिएको थियो, ‘पार्टीको विद्यमान क्रियाशील सदस्यता वितरण, व्यवस्थापन र अभिलेखीकरण प्रणालीलाई व्यवस्थित, चुस्त र सहज बनाउन हालसम्मका पार्टीमा आबद्ध सम्पूर्ण क्रियाशील सदस्यता अभिलेखमा राखी एक पटकका लागि नेपाली कांग्रेसको विधान २०१७ (एघारौं संशोधन) बमोजिम सम्पूर्ण सदस्यलाई पुन: क्रियाशील सदस्यता फाराम भर्न लगाई सदस्यता अद्यावधिक गर्ने निर्णय यो बैठक गर्दछ।’ सदस्यता अद्यावधिकका लागि वैशाख महिनाभरि देभरका ७४३ वटै वडामा एक महिने सदस्यता अद्यावधिक विशेष अभियान (जरामा जाऊँ अभियान) सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको थियो।