
१८ वैशाख, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार पहिरोले डोजर पुरिँदा चालकको मृत्यु भएको छ। बेगको भिजरादेखि भजने जाने सडक निर्माण क्रममा पहिरो खस्दा रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिएको थियो। सोही डोजर चलाउँदै आएका रघुगंगा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ। सडकको मार्ग खन्ने क्रममा मिथिबाट सुक्खा पहिरो खस्दा डोजर र चालक पुरिएका थिए। प्रहरी र स्थानीयवासीले करिब चार घण्टाको प्रयासपछि पहिरोबाट कार्कीको शव निकाल्न सफल भएका थिए। घटनास्थलमा खटिएका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले अन्य डोजर र ब्याकहोहल्सर परिचालन गरेर पहिरोमा पुरिएका कार्कीको शव निकालेर परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाइएको जानकारी दिएका छन्।






