
स्वास्थ्य बीमा दर्ता सहयोगी राधिकाले अनियमितता उजागर गरेपछि पदबाट हटाउने आरोप लगाइन्
चितवनकी राधिक बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा अनियमितता उजागर गरेपछि आफूलाई पदबाट हटाइएको दावी गरेकी छन्। जिल्ला सम्पर्क शाखा कार्यालय चितवनले कार्यसम्पादन सम्बन्धी समस्या देखिएको भन्दै राधिकालाई हटाइएको जनाएको छ। स्वास्थ्य बीमा बोर्डले औपचारिक निर्णय लिन समय लाग्ने र वडाबाट आधिकारिक विवरण नपाएको उल्लेख गरेको छ। २० वैशाख, काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रममा अनियमितता भएको विषय उठाएको कारण आफूलाई पदबाट हटाइएको भन्दै चितवनकी राधिक बस्नेतले स्वास्थ्य बीमा बोर्डमा उजुरी दर्ता गराएकी छिन्। अनलाइनखबरसँगको संवादमा स्वास्थ्य बीमा दर्ता सहयोगी राधिकाले आफूलाई कुनै जानकारी नदिइ राजनीतिक पूर्वाग्रहका आधारमा पदबाट हटाइएको आरोप लगाएकी छन्। उनी चितवनको खैरहनी नगरपालिका-४ मा दर्ता सहयोगीको रूपमा २०७३ सालदेखि कार्यरत थिइन्। जिल्ला सम्पर्क शाखाका अधिकारीहरू, स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्य शाखाका पदाधिकारीहरूको मिलेमतोमा बिना जानकारी पदबाट हटाइएको राधिकाको भनाइ छ।
‘स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय चितवनका दर्ता अधिकारी र जिल्ला संयोजक रमेश धमलाले बिना कारण गलत र तथ्यहीन आरोप लगाएका छन्,’ राधिकाले भनिन्, ‘खैरहनी-४ का वडाअध्यक्षसँगको मिलेमतोमा राजनीतिक पूर्वाग्रहका आधारमा मलाई बर्खास्त गरिएको हो।’
राधिकाले उजुरीमा खैरहनी नगरपालिकाका प्रमुख, उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख तथा वडा अध्यक्षहरूको समन्वयमा आफूलाई हटाउने निर्णय गरिएको उल्लेख गरेकी छिन्। राजनीतिक र आर्थिक लेनदेनको आधारमा आफ्ना मानिस नियुक्त गर्ने र गैरकानुनी गतिविधि संचालन गर्न आफूलाई हटाएको राधिकाले बताएकी छन्।
राधिकाका अनुसार उनी स्वास्थ्य बीमा कार्यक्रममा भइरहेको अनियमित गतिविधि जनाउँदै प्रश्न उठाउँदै आएकी थिइन्। दर्ता प्रक्रिया, फाराम दर्ता, र सेवाग्राहीसँगको व्यवहारमा भएको अनियमितताबारे प्रश्न उठाएको कारण राधिकालाई दबाब दिइएको उनको उजुरीमा उल्लेख छ। केही अधिकारीहरूले बीमा फाराम दर्ता गरिदिने नाममा सेवाग्राहीसँग रकम माग्ने, नागरिकलाई कार्यालयमै बोलाएर फाराम भर्न दबाब दिने र दर्ता सहयोगीहरूलाई पनि आर्थिक दबाब दिने कार्य भइरहेको उनी बताउँछिन्।
पुरुषलाई महिला बनाएर दर्ता गर्ने, रकम तिरेका नागरिकलाई प्रणालीमा निःशुल्क देखाउने, दर्ता सहयोगीलाई आवश्यक सामग्री उपलब्ध नगराउने तथा काममा विभिन्न प्रकारका दबाब दिने जस्ता अनियमित गतिविधि भइरहेको आरोप राधिकाले लगाएकी छिन्। यस्ता गतिविधि उजागर गरेपछि आफूलाई मानसिक दबाब दिइएको र कुनै स्पष्टीकरण नदिई पदबाट हटाइएको उनले दाबी गरिन्।
उजुरीमा राधिकाले सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा आफूलाई पुनः कार्यस्थलमा फर्काउने वातावरण बनाउन स्वास्थ्य बीमा बोर्डसँग माग गरेकी छिन्। यदि आवश्यक कारबाही नभएमा उनले अन्य कानुनी र सामाजिक माध्यमबाट विषय उठाउने चेतावनीसमेत दिएकी छिन्।
‘ऐन, कानुन, कार्यविधि र आर्थिक कार्यविधिको दायराभित्र रहेर गलत हुँदा कारबाही गर्न कुनै आपत्ति छैन,’ राधिकाले भनिन्, ‘तर सम्पर्क शाखा कार्यालय चितवनबाट मलाई बिना स्पष्टीकरण र जानकारी बर्खास्त गरिएको र सम्झौता रद्द गरिएकोप्रति आपत्ति छ। जबरजस्ती आफ्नो स्वार्थ पूर्ति गर्न गरिएको यो प्रक्रिया अवैधानिक र ऐनविपरीत हो।’