Skip to main content

एडीबी अध्यक्ष: नेपालको नयाँ सरकारलाई सहयोग गर्न हामी उत्साहित छौं

एसियाली विकास बैंक (एडीबी) अध्यक्ष मासातो कान्दाले नेपालमा युवा आन्दोलनपछि निर्वाचित नयाँ सरकारलाई सहयोग गर्ने विषयमा आफू उत्साहित भएको बताएका छन्। एडीबीले सन् २०३५ सम्म ऊर्जा ग्रिड विस्तार र डिजिटल नेटवर्क विस्तारका लागि ७० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ। एडीबीले ऊर्जा र डिजिटल पूर्वाधारमा क्रमशः ५० अर्ब र २० अर्ब डलर लगानी गरी सीमापार विद्युत व्यापार र डिजिटल पहुँच सुधार गर्ने लक्ष्य राखेको छ। २० वैशाख, समरकन्द (उज्बेकिस्तान)।

कान्दाले उज्बेकिस्तानको ऐतिहासिक सहर समरकन्दमा आइतबारदेखि सुरु भएको एडीबीको ५९ औं वार्षिक सम्मेलनमा यस्तो बताएका हुन्। सम्मेलन क्रममा प्रश्नको जवाफ दिँदै कान्दाले भने, ‘नेपालको नयाँ सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा हामीले छलफल सुरु गरिसकेका छौं, नेपालका लागि उत्कृष्ट भविष्य निर्माण गर्न नयाँ सरकारलाई सहयोग गर्न हामी उत्साहित छौं।’ उनले भ्रष्टाचारप्रति एडीबीको शून्य सहनशीलता नीति रहेको उल्लेख गर्दै भने, ‘म कुनै पनि भ्रष्टाचारलाई अनुमति दिन सक्दिनँ, यस विषयमा हाम्रो कडा अडान छ र भ्रष्टाचार पुष्टि भएमा प्रभावकारी कदम चालिन्छ।’

कान्दाले एसिया र प्रशान्त क्षेत्रका ऊर्जा ग्रिडहरू जोड्न र डिजिटल नेटवर्क विस्तार गर्न सन् २०३५ सम्म ७० अर्ब अमेरिकी डलर बराबरको नयाँ पहल सुरु गर्ने घोषणा गरे। उक्त योजनाले सीमापार विद्युत व्यापार बृद्धि गर्नुका साथै यस क्षेत्रमा ब्रॉडब्यान्ड इन्टरनेट पहुँच सुधार गर्ने लक्ष्य राखेको जानकारी दिए। एडीबीले ‘प्यान-एसिया पावर ग्रिड’ मार्फत राष्ट्रिय र उपक्षेत्रीय विद्युत प्रणालीलाई आपसमा जोड्ने र यसबाट सीमापार विद्युत प्रवाह वृद्धि गर्ने बताए। यसअन्तर्गत २२ हजार सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गर्ने र करिब २० गिगावाट नवीकरणीय ऊर्जा सीमापार ग्रिडमा जोड्ने महत्त्वाकांक्षी योजना कान्दाले सार्वजनिक गरे।

डिजिटल पूर्वाधार खाडललाई पुनः पूर्ति गर्न एडीबीले ‘एसिया प्यासिफिक डिजिटल हाइवे’का लागि २० अर्ब डलर लगानी गर्ने जनाएको छ। यी रकम डिजिटल मार्ग निर्माण, डेटा पूर्वाधार विकास र एआई आधारित अर्थव्यवस्थाहरू विकास गर्न प्रयोग गरिने उनले बताए। यस कार्यक्रममा विशेषगरी दुर्गम र भूपरिवेष्ठित क्षेत्रहरूमा ध्यान केन्द्रित हुने उल्लेख कान्दाले गरे। २० अर्ब डलरमध्ये १५ अर्ब डलर एडीबीले आफैं लगानी गर्ने र ५ अर्ब डलर निजी क्षेत्रसहितका साझेदारहरूले सहवित्तीयकरण गर्ने जानकारी दिएको छ।