
भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो नयाँ नभई सन् १९५४ देखि निरन्तर चलिरहेको पुरानो मार्ग भएको स्पष्ट पारेको छ। भारतले नेपालका केही भू–भाग सम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएकाले अस्वीकार्य रहेको बताएका छन्। भारतले सीमा विवाद समाधानका लागि नेपालसँग संवाद र कूटनीतिमार्फत रचनात्मक छलफलका लागि तयार रहेको उल्लेख गरेको छ।
२० वैशाख, काठमाडौं। भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो नयाँ नभई पुरानो रहेको जवाफ दिएको छ। नेपाल सरकारले भारत र चीनलाई पठाएको कूटनीतिक नोटको जवाफ स्वरूप भारतको यो प्रतिक्रिया आएको हो जसमा लिपुलेक हुँदै मानसरोवर जाने मार्ग सम्बन्धमा छलफल गरिने उल्लेख गरिएको थियो। भारतको विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको बताएका छन्। उनले भने, ‘लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवरको यात्राको मार्ग सन् १९५४ देखि निरन्तर सञ्चालनमा रहेको पुरानो मार्ग हो र यो कुनै नयाँ विषय होइन।’
भारतले नेपालका केही भू–भागसँग सम्बन्धित दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै ती एकतर्फी दाबीहरू अस्वीकार्य रहेको स्पष्ट पारेको छ। साथै, द्विपक्षीय सम्बन्धका सबै विषयमा, विशेष गरी सीमा विवाद समाधानका लागि, संवाद र कूटनीतिमार्फत नेपालसँग रचनात्मक छलफल गर्न भारत तयार रहेको उनले बताएका छन्। परराष्ट्र मन्त्रालयले आज मात्रै दुवै देशलाई कूटनीतिक नोट पठाएर यसबारे ध्यानाकर्षण गराएको थियो। भारतले नेपालबाट आएको पत्र प्राप्त गरेको केही घण्टाभित्र जवाफ फर्काएको हो।






