
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आन्ध्र महासागरमा यात्रा गरिरहेको एउटा पानीजहाजमा हान्टा भाइरसको सम्भावित प्रकोपका कारण तीन जनाको मृत्यु भएको जानकारी दिएको छ। डब्ल्यूएचओका अनुसार एक जनामा संक्रमण पुष्टि भएको छ भने अन्य पाँच जनामा सो भाइरसबाट संक्रमण भएको आशंका गरिएको छ। अधिकारीहरूले त्यसमाथि थप अनुसन्धान गरिरहेका छन्।
आर्जेन्टिनाबाट केप भर्ड जाँदै गरेको एमभी होर्डिअस नामक उक्त ब्रिटिश क्रूज जहाजमा हान्टा भाइरस फैलिएको आशंका गरिएको हो। दक्षिण अफ्रिकाका अधिकारीहरूका अनुसार जहाजमा विभिन्न देशका करिब १५० पर्यटक थिए। दक्षिण अफ्रिकाको जोहानेस्बर्गस्थित एउटा अस्पतालको सघन उपचार कक्षमा ६९ वर्षीया एक ब्रिटिश महिलालाई उपचारका लागि भर्ना गरिएको छ। उनी सेन्ट हेलेना बाट असेन्शन द्वीप तर्फ यात्रा गर्ने क्रममा बिरामी भएकी थिइन्।
दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका प्रवक्ताका अनुसार “प्रयोगशालामा गरिएको परीक्षणले उनलाई हान्टा भाइरस भएको पुष्टि गरेको छ।” ती बिरामीलाई असेन्शनस्थित अस्पतालबाट जोहानेस्बर्गको अस्पतालमा सारिएको छ। जहाजमा बिरामी भएका एक दम्पतीको मृत्यु भएको दक्षिण अफ्रिकी अधिकारीहरूले पुष्टि गरेका छन्। जहाज सेन्ट हेलेना टापु आइपुग्दा ७० वर्षीय पुरुषको मृत्यु भएको थियो भने उनकी ६९ वर्षीया पत्नीको जोहानेस्बर्गस्थित अस्पतालमा निधन भएको छ। उनीहरू नेदरल्यान्ड्सका नागरिक हुन्।
डब्ल्यूएचओका अनुसार हान्टा भाइरस संक्रमण सामान्यतया वातावरणीय कारणहरूबाट हुन्छ। संक्रमित मुसा र अन्य जीवजन्तुहरूको मलमूत्रसँग सम्पर्कमा आएर मानिसमा पनि हान्टा भाइरस सर्न सक्छ। कहिलेकाहीँ बिरलै यस भाइरस मानिसबाट मानिसमा सर्न सक्छ र यसले “श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या” निम्त्याउँछ। डब्ल्यूएचओले पानीजहाजमा हान्टा भाइरस संक्रमण फैलिएको हुन सक्ने घटनामा “विस्तृत अनुसन्धान र प्रयोगशालामा थप परीक्षण” भइरहेको जानकारी दिएको छ।






