
समाचार सारांश पश्चिम बंगालमा भारतीय जनता पार्टीले २९४ मध्ये १९३ सिटमा अग्रता लिएर तृणमूल कांग्रेसको १५ वर्षे शासन भत्काउने सम्भावना बढाएको छ। भाजपाले महिला सुरक्षा, भ्रष्टाचार र बेरोजगारीविरुद्धको आक्रोशलाई चुनावी मुद्दा बनाएको थियो। भाजपाले ‘ब्रान्ड मोदी’ र हिन्दू मतध्रुवीकरणको रणनीतिसहित विकास र सामाजिक योजनाको वाचा गर्दै चुनावी मैदानमा प्रभाव जमाएको छ। २१ वैशाख, काठमाडौं। पश्चिम बंगालमा ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसको १५ वर्ष पुरानो किल्ला भारतीय जनता पार्टी (भाजपा)ले भत्काउने लगभग निश्चित भएको छ। विधानसभा निर्वाचनमा राज्यका २९४ सिटमध्ये २९३ सिटमा मतगणना भइरहँदा भाजपा पूर्ण बहुमततर्फ अगाडि बढिरहेको छ। बहुमतका लागि १४८ सिट आवश्यक भए पनि समाचार तयार हुनेबेला भाजपा १९३ सिटमा अग्रता लिइरहेको छ। सन् २०११ को विधानसभाको चुनावमा पनि भाजपाले सत्तारूढ तृणमूल कांग्रेसलाई कडा चुनौती दिएको थियो, तर अन्तिम नतिजा तृणमूलकै पक्षमा गएको थियो। त्यतिबेला तृणमूल कांग्रेसले १७७ सिट जितेर सत्ता कायम राखेको थियो। त्यस चुनावमा भाजपा पहिलो पटक मुख्य विपक्षी दल बनेको थियो र प्रभावशाली प्रदर्शन गर्दै ७७ सिट जितेको थियो। तर यसपटक भाजपा सहज बहुमत हासिल गर्ने दिशामा अगाडि बढ्दैछ। यद्यपि ममता बनर्जीले अन्तिम विजेता तृणमूल कांग्रेस नै हुने दाबी गरेकी छन्। पश्चिम बंगालका मतदाताले भाजपा रोज्नुका ५ सम्भावित कारणहरू यस प्रकार छन्: १. सत्ता विरोधी लहर र भाजपाको बढ्दो जनाधार तृणमूल कांग्रेस २०११ मा सत्तामा आएको थियो र ममता बनर्जीले वामपन्थी किल्ला भत्काएर इतिहास लेखेकी थिइन्। तर १५ वर्षसम्म सत्ता हुँदा सरकारविरुद्ध असन्तुष्टि बढेको देखिएको थियो। यसको फाइदा भाजपाले उठाउँदै आएको छ। पछिल्लो १० वर्षमा भाजपाले बलियो विपक्षी दलको रूपमा रूपान्तरण गरेको छ। सन् २०१६ मा १० प्रतिशत मत पाएको भाजपाले सन् २०२१ मा ३८ प्रतिशत र सन् २०२४ को लोकसभा चुनावमा लगभग ३९ प्रतिशत मत हासिल गरेको थियो। २. तृणमूल कांग्रेसविरुद्ध असन्तुष्टि र भ्रष्टाचारविरुद्ध आक्रोश ममता बनर्जी अझै लोकप्रिय छिन्, तर बेरोजगारी, भ्रष्टाचार र सुशासनमा विपक्षी पक्षले आक्रामक भूमिका खेलेको छ। जसले अनिर्णित मतदातालाई भाजपातर्फ आकर्षित गरेको छ। तृणमूल सरकारमाथि शिक्षक भर्ती घोटाला, राशन घोटाला लगायत ठूला भ्रष्टाचारका आरोप लगिएका छन्। पूर्वमन्त्री पार्थ चटर्जीको पक्राउजस्ता घटनाले पार्टीको छविमा असर परेको छ। ३. महिला सुरक्षाको मुद्दा आरजी कर अस्पताल घटनाजस्ता मुद्दाले महिला सुरक्षालाई ठूलो चुनावी मुद्दा बनाएको छ। कोलकातास्थित सरकारी अस्पतालमा कार्यरत महिला चिकित्सकमाथि यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि देशव्यापी आक्रोश फैलिएको थियो। त्यस्तै उत्तर २४ परगना जिल्लाको सन्देशखाली क्षेत्रमा स्थानीय महिलाहरूले केही प्रभावशाली व्यक्तिहरूमाथि यौन शोषण, जग्गा कब्जा र धम्कीको आरोप लगाएका थिए, जसमा सत्तारूढ दलका नेताहरू संलग्न भएको आरोप थियो। ४. ‘ब्रान्ड मोदी’को प्रभाव र हिन्दू मतध्रुवीकरण नरेंद्र मोदीको लोकप्रियतालाई अघि सार्दै भाजपा चुनावी मैदानमा लागेको छ। ममताको प्रभावशाली राज्यशक्तिको सामना गर्न ‘मोदी ब्रान्ड’ निर्णायक बनेको छ। प्रधानमन्त्री मोदीले ‘डबल इन्जिन सरकार’ अवधारणा प्रस्तुत गर्दै विकासको वाचा गरेका छन्। विशेष गरी महिलालाई लक्षित गर्दै मासिक तीन हजार रुपैयाँ खातामा पठाउने प्रतिबद्धता पनि राखिएको छ। साथै भाजपाले हिन्दू मतदातालाई एकीकृत गर्ने प्रयास गरेको छ। तृणमूल कांग्रेसलाई मुस्लिम समर्थक पार्टीको रूपमा प्रचार गर्दै भाजपाले मतध्रुवीकरणको रणनीति अपनाएको छ। ५. बंगलादेशी घुसपैठको मुद्दा र मतदाता सूची संशोधनको प्रभाव पश्चिम बंगालमा बंगलादेशी घुसपैठको विषय लामो समयदेखि विवादित छ। विपक्षले सरकारलाई नरम भएका आरोप लगाउँदै कडा आलोचना गरेको छ। चुनावअघि मतदाता सूची संशोधन अभियान चलाइयो जसबाट लाखौँ मतदाताका नाम हटाइयो भन्ने आरोप लाग्यो। यसले चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पारेको बताइन्छ।






