
वन तथा वातावरण तथा कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थलगत अनुगमन गरिन्। अनुगमनको क्रममा उनले निकुञ्जको वर्तमान अवस्था र संरक्षण क्षेत्रका गतिविधिहरूको विस्तृत जानकारी लिइन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, चोरी–सिकार नियन्त्रण, र घाइते तथा समस्याग्रस्त वन्यजन्तुको उद्धारलाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए।
अनुगमन पछि मन्त्री चौधरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न निकुञ्जले थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘संरक्षणसँगै पर्यटकीय विकास गरी स्थानीय समुदायको आय आर्जन वृद्धि गर्न निकुञ्जले विशेष योजना ल्याउनुपर्छ।’






