
उज्बेकिस्तानको समरकन्दमा एशियाली विकास बैंकको ५९औं वार्षिक सम्मेलन सुरु भएको छ, जसमा १०० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी छन्। एडीबी अध्यक्ष मासातो कान्दाले ऊर्जा र इन्टरनेट सञ्जाल विस्तारका लागि ७० अर्ब अमेरिकी डलरको लगानी गर्ने योजना घोषणा गरे। उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले आफ्नो देशलाई कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा नेतृत्वकारी बनाउने र क्षेत्रीय विकासका पाँच महत्त्वपूर्ण प्रस्तावहरू प्रस्तुत गरे।
सिल्क रोडको केन्द्रबिन्दु समरकन्दमा भइरहेको यस सम्मेलनमा मुख्य विषयवस्तु फेरि पनि जोडिएको छ– इन्टरनेट र विद्युत् लाइन सञ्जाल। आइतबारबाट सुरु भएको सम्मेलनलाई सोमबार उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभ र एडीबी अध्यक्ष मासातो कान्दाले औपचारिक रूपमा सम्बोधन गरि उद्घाटन गरे। युनेस्कोले समरकन्दलाई ‘संस्कृतिहरूको चौबाटो’ को रूपमा चिनाएको छ। एडीबीले पनि यस सम्मेलनको मुख्य नारा राखेको छ– ‘प्रगतिको चौबाटो: यस क्षेत्रको जोडिएको भविष्यलाई सुदृढ पार्दै।’
एडीबी अध्यक्ष कान्दाले उद्घाटन सत्रमा भने, ‘संगै विकास गरौं, एकसाथ काम गरौं’ र यो क्षेत्र नयाँ चरणमा प्रवेश गरेको जानकारी दिएका छन्। उनले भू-राजनीतिक विखण्डन, द्वन्द्वका विनाशकारी प्रभाव, आर्थिक अवरोध र जलवायु परिवर्तनका दबाबहरूप्रति चेतावनी समेत दिएका छन्। सन् २०२५ सम्म एडीबीले यस क्षेत्रमा ४४ अर्ब डलरको असाधारण सहयोग दिने योजना रहेको पनि उनले जानकारी गराए।
राष्ट्रपति मिर्जियोयेभले उज्बेकिस्तानलाई कृत्रिम बुद्धिमत्ता क्षेत्रको नेतृत्वकर्ता बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरे। उनले २०१६ देखि निरन्तर विकास भइरहेको अर्थतन्त्र यस अवधिमा ५० अर्ब डलरबाट १४७ अर्ब डलरमा पुगेको बताएका छन्। साथै, उनले गरिबी दर ३५ प्रतिशतबाट घटाएर ५.८ प्रतिशत पुर्याउन सफल भएको कुरा उल्लेख गरे। यसैगरी, उनले क्षेत्रीय विकासका लागि पाँच महत्वपूर्ण प्रस्तावहरू पनि प्रस्तुत गरेका छन्।






