
२२ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजलाई पार्टीविरुद्धको संघर्षका रूपमा नहेर्न आग्रह गरेका छन्। विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको विरोध भइरहेका बेला, उनले सरकारको यो निर्णय प्रणालीलाई बचाउने प्रयास भएको बताएका छन्। ‘यो कुनै पार्टीविरुद्धको लडाइँ होइन। यो प्रणाली बचाउने प्रयास हो। यो भविष्य बचाउने प्रयास हो,’ प्रधानमन्त्रीले फेसबुकमा उल्लेख गरेका छन्, ‘यो देशलाई दलगत कब्जाबाट मुक्त गर्दै संस्थागत मार्गमा ल्याउने प्रयास हो। शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गराउने प्रयास हो।’
प्रधानमन्त्रीले ‘विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो’ भनी पत्रकार, नेता, अभियानकर्ता, व्यापारी र सर्वसाधारणको साथ र सहयोगको अपेक्षा राखेका छन्। ‘तपाईंहरूकै चाहनाअनुसार अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौं। हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाईंहरूको साथ चाहिएको छ, विश्वास चाहिएको छ,’ उनले भनेका छन्, ‘किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाईंहरूकै जनचाहनाअनुसार काम गर्न सरकारमा आएका हौँ। तपाईंहरू ढुक्क हुनुहोस्, हामी जे गर्छौं त्यो आम नेपाली जनताकै हितमा गरिन्छ।’
सरकारको निर्णयले कुनै अधिकार खोस्ने नभएर पेशागत स्वतन्त्रता बलियो बनाउने बताएका प्रधानमन्त्री बालेनले भने, ‘यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ,’ उनले लेखेका छन्, ‘अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता हुनुपर्छ।’






