
वीरगञ्ज महानगरपालिकाले बीपी उद्यानलाई व्यवस्थित हरियाली पार्कको रूपमा विकास गर्ने कार्यलाई तीव्रता दिएको छ। मेयर राजेशमान सिंहले पार्क निर्माणले तापक्रम नियन्त्रण, प्रदूषण न्यूनीकरण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा योगदान पुर्याउने बताउनुभयो। महानगरपालिकाले पार्कभित्र पैदल मार्ग, विश्रामस्थल, फूलबारी र रेल्वे संग्रहालय बनाउने योजना बनाएको छ। २२ वैशाख, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि र वातावरण सुधारका लागि बीपी उद्यानलाई व्यवस्थित हरियाली पार्कको रूपमा विकास गर्ने कार्यलाई तीव्र गतिमा अघि बढाएको छ। लामो समयदेखि अव्यवस्थित र अतिक्रमित क्षेत्र रहेको यस उद्यानलाई अब सफा, खुला र आकर्षक सार्वजनिक स्थलका रूपमा पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ। हाल उद्यान क्षेत्रमा माटो पुर्ने, जमिन सम्याउने र नियमित सिँचाइ गर्ने काम भईरहेको छ।
महानगरपालिकाका अनुसार आगामी चरणमा दुबो रोप्ने, विभिन्न प्रजातिका फूलहरू र बिरुवा लगाउने र हरियाली व्यवस्थापन व्यवस्थित गरिने तयारी छ। यसले पार्कलाई प्राकृतिक रूपमा सुन्दर र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ। मेयर राजेशमान सिंहले यस परियोजना केवल पार्क निर्माण मात्र नभई समग्र शहरको जीवनस्तर उकास्ने अभियान भएको बताए।
बीपी उद्यानलाई आधुनिक, सफा र व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्ने सोच रहेको उनले बताए। यसले वीरगञ्जको सौन्दर्य बढाउनुका साथै यहाँका नागरिकलाई सफा वातावरण र विश्रामका लागि खुल्ला स्थान उपलब्ध गराउनेछ। उनले थपे, पार्क निर्माणले तापक्रम नियन्त्रण, प्रदूषण कम गर्ने र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।






