
दाङको लमहीमा भूमिहीन किसानहरूले आफ्नो भूमि र आवास अधिकार सुनिश्चित गर्न प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागीहरूले ‘उठिबास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर’ लेखिएका प्लेकार्ड देखाएका थिए। भूमिहीन, सुकुमवासी, अव्यवस्थित बसोबासीहरूले जबरजस्ती उठिबास रोक्न र सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
२३ वैशाख, बुटवल। दाङको लमहीमा भूमिहीन किसानहरूले सरकारको कदमविरुद्ध विरोध प्रदर्शन गरेका छन्। भूमि र आवास अधिकार सुनिश्चित गर्न विभिन्न समूहले प्रदर्शन र सभा गरेको छ। सहभागीहरूले ‘उठिबास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर’ नारा लेखिएका प्लेकार्ड र ब्यानरहरू प्रदर्शन गरेका थिए। र्यालीमा दाङका विभिन्न स्थानबाट आएका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम भूमिहीन, सुकुमवासी, अव्यवस्थित बसोबासी, गुठी, मोही तथा मुक्त कमैया संघर्ष समिति दाङ देउखुरीको आयोजनामा सम्पन्न भएको हो। लमही नगरपालिका, राप्ति गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाबाट सहभागी भएका प्रदर्शनकारीहरूले आफ्ना दीर्घकालीन समस्याहरू समाधान गर्न माग गरेका छन्। उनीहरूले जबरजस्ती उठिबास रोक्न, सुरक्षित बसोबासको व्यवस्था गर्न र भूमि तथा आवास अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका छन्।






