
तीन दिन लामो यात्रामा विराटनगरबाट अयोध्या, प्रयागराज र बनारसका पौराणिक शहरहरूमा धार्मिक स्नान र दर्शन गरियो। मानिसको मन अनौठो छ। कहिले यो शान्त तालाउ जस्तो बन्छ, त कहिले आँधीबेहरीझैँ अनियन्त्रित हुन्छ। व्यस्त चिकित्सकीय जीवन, अस्पतालका सेता भित्ताहरू र बिरामीको सुस्केरा बीच कतै एउटा आध्यात्मिक प्यास लुकेको थियो। त्यही प्यास र छोटो विदाले एउटा योजनाको जन्म दियो। सामान्य पर्यटकका लागि ‘असम्भव’ र भक्तका लागि ‘महोत्सव’ जस्तै भयो। बिहीबारदेखि आइतबारसम्मको ३ दिनको यात्रा, तर गन्तव्य ३ वटा पौराणिक शहर थिए। अयोध्या, प्रयागराज र बनारसका अनगिन्ती आध्यात्मिक अनुभूतिहरू। धेरैले यसलाई ‘थकाउने यात्रा’ भन्न सक्थे। तर मेरो लागि यो एउटा ‘आध्यात्मिक म्याराथन’ जस्तै भयो। बिहीबार बिहानको सामान्य काम हतारमा समाप्त गरेर विराटनगरबाट हाम्रो टोली निस्कियो। टोलीमा म, मेरी अर्धाङ्गिनी सोमनी, छोरा विप्लक, छोरी बन्दना, भाउजू रम्भा, दिदी अहिल्या र हाम्रो यात्राको सारथि कुलदीप थिए। कुलदीपको भारतीय नम्बर प्लेटको त्यो गाडी यात्रा साधन मात्र थिएन, त्यो त एउटा गुडिरहेको ‘सानो घर’ थियो, जहाँ विश्वास र उत्साहको इन्धन भरिएको थियो।
१. अयोध्या: सरयूको शीतल स्पर्श विराटनगरबाट सुरु भएको लामो सडक यात्राले हामीलाई बिहीबार राति २ बजे अयोध्याको पवित्र माटोमा पुर्यायो। शहर निदाइरहेको थियो, तर हाम्रो मनमा एउटा छुट्टै जागरण थियो। मात्र चार घण्टाको विश्रामपछि वैशाख शुक्ल पूर्णिमाको झुल्के घामसँगै बिहान ६ बजे हामी सरयू नदीको किनारमा पुग्यौं। भगवान् विष्णुको नेत्रजलबाट उत्पन्न भएको मानिने सरयू नदीको ‘नयाँ घाट’मा स्नान गर्यौं। बुद्ध जयन्ती एवं वैशाख शुक्ल पूर्णिमाको पावन तिथिमा सरयूको शीतल र निर्मल जलमा डुबुल्की मार्दा लामो यात्राको थकान हरायो। यस नदीको पानीमा एक विशेष शान्ति छ जसले मानिसलाई ‘मर्यादा’ सिकाउँछ। स्नानपछि हनुमानगढीको दर्शन र त्यसपछि नवनिर्मित भव्य राम मन्दिरको दर्शन गरियो। रामललाको त्यो अलौकिक मूर्तिले यो म्याराथनको पहिलो चरण सफल भएको अनुभूति दियो।
२. प्रयागराज: संगमको गहिराइ अयोध्याबाट प्राप्त आशीर्वाद लिएर हाम्रो गाडी सोझै प्रयागराज (इलाहाबाद) तर्फ लाग्यो। यो म्याराथनको दोस्रो र अत्यन्त महत्वपूण खण्ड थियो। पूर्णिमाको स्नानलाई हामीले छुटाउन चाहेनौं। त्यसैले दिउँसोको राप र सडकको जाम झेल्दै साँझ ५ बजे हामी त्रिवेणी संगमको किनारामा पुगेका थियौं। प्रयागराजलाई ‘तीर्थराज’ अर्थात तीर्थहरूको राजा पनि भनिन्छ। यहाँ गंगा, यमुना र अदृश्य सरस्वतीको संगम भएको छ। हामी संगमको बीच भागमा पुगेका थियौं जुन दृश्य अत्यन्त लोभलाग्दो थियो। यमुनाको नीलो पानी र गंगाको सेतो पानीको स्पष्ट सिमाना देखिन्थ्यो। त्यहाँको बीच जलराशिमा सपरिवार स्नान गर्नु भनेको केवल शरीर धुनु मात्र थिएन, बरु आफ्ना अहंकार र विकारहरू विसर्जन गर्नु थियो। पौराणिक मान्यताअनुसार वैशाख पूर्णिमामा संगममा स्नान गर्नु अश्वमेध यज्ञ बराबरको पुण्य मानिन्छ। स्नानपछि त्यहाँका प्रख्यात सुतेका हनुमानको दर्शन गरेर हाम्रो यात्रा बनारस तर्फ मोडियो।
३. बनारस: भक्ति र स्वादको संगम प्रयागराजबाट हिँडेको हाम्रो टोली राति १२ बजे बनारस (काशी) पुग्यो। रातको समयमा बनारसका गल्लीहरूमा हाम्रो गाडी गुडिरहेको थियो। यो पौराणिक शहर आधुनिकता छोपिए पनि संस्कार कहिल्यै हराएको छैन। एक छिन पनि नसुत्ने यो शहरले जीवन र मृत्युलाई एउटै घाटमा सँगै स्वीकार गरिरहेको देख्न सकिन्छ। राति थोरै विश्राम गर्यौं। शनिबार बिहान ६ बजे हामी गंगाको पवित्र किनारमा पुग्यौं। हामीले बनारसको सबैभन्दा ऐतिहासिक र जीवन्त दशाश्वमेध घाटमा स्नान गर्यौं। भनिन्छ, यही घाटमा ब्रह्माले १० वटा अश्वमेध यज्ञ गरेका थिए। गंगाको लहरमा स्नान गर्दा एउटा अद्भुत ऊर्जा महसुस भयो। स्नानपछि काशी विश्वनाथको भव्य ‘कोरिडोर’ (गेट नं. २) बाट मन्दिर प्रवेश गर्दा लामो प्रतीक्षा समाप्त भयो। आधुनिक इन्जिनियरिङ र प्राचीन आस्थाको संगमले काशीलाई नयाँ रूप दिएको रहेछ। विश्वनाथको दर्शनपछि काशीको ‘कोतवाल’ कालभैरवको दर्शन गरेर हाम्रो यात्रा पूर्णता प्राप्त गर्यो। कालभैरवका गल्लीहरूमा धेरै बेर अल्मलियौं। एउटै किसिमका साँघुरा गल्लीहरू, तर अन्त्य नदेखिने। अन्ततः हामी गुगल नक्शाको सहायताले बाहिर निस्कन सफल भयौं। बनारस पुगेर त्यहाँको गल्ली र स्वाद नचाख्नु भनेको काशीको यात्रा अधूरो छोड्नु जस्तै हो। माटोको भाँडोमा पाइने बाक्लो र मलाइदार लस्सी, स्थानीय मिठाई र मुखै रसाउने प्रसिद्ध बनारसी पानको स्वादले यात्रालाई अझै यादगार बनायो। सामाजिक सञ्जालमा भाइरल भएको बनारसको ‘लिट्टीको’ पसल पनि भेट्यौं। साँच्चिकै त्यहाँको लिट्टीको चाटको स्वाद अद्भुत थियो। गल्लीका साँघुरा बाटामा हराउनु र ‘हरहर महादेव’ को गुञ्जन सुन्नुको आफ्नै मज्जा थियो। शनिबार साँझ ६:४० मा गंगा आरतीको दर्शनका लागि हामी फेरि दशाश्वमेध घाट पुगेका थियौं। ७ जना पण्डितहरूले भव्य पूजा गरेर एकसाथ आरतीका दीपहरू उचाल्दा, शंखको आवाज गुन्जंदा र गंगाको लहरहरूमा हजारौं बत्तीहरू तैरँदा, साक्षात् ईश्वरीय शक्ति यहीँ कतै छ जस्तो अनुभूति भयो। झिलिमिली बत्ती र प्रकाशको प्रतिबिम्ब देख्दा मनमा एउटा अलग संसारको अनुभव भयो। यो दृश्य नै यस ‘आध्यात्मिक म्याराथन’को सबैभन्दा सुन्दर र भावुक क्षण थियो।
४. अन्तिम प्रहर: घर फर्कने दौड शनिबार राति ९ बजे हामीले बनारसलाई बिदा गर्यौं। अब आइतबार घर पुगेर विश्राम गर्ने र सोमबार नियमित काममा फर्कने चुनौती थियो। रातभरि गाडी चलिरह्यो, सडकका पहेँला बत्तीहरू पछि पर्न थाले। बीचबीचमा चिया खाँदै र साना–साना आरामले शरीरलाई सहारा दिँदै अघि बढ्यौं। आइतबार दिउँसो १२ बजे हामी विराटनगरको आफ्नै घर आइपुग्यौं। यसरी ३ दिनको ‘आध्यात्मिक म्याराथन’ सफलतापूर्वक सम्पन्न भयो। यो यात्रा केवल भूगोलको भ्रमण मात्र थिएन, यो त एउटा ‘डाक्टर’ भित्र लुकेको एउटा ‘आस्था’ र आफ्नै आत्मासँग संवाद, साथै पारिवारिक जिम्मेवारी पनि थियो। म्याराथनमा सामान्यतया मानिस पदकको लागि दौडिन्छन्। तर हाम्रो यो म्याराथनमा हामी आत्मिक शान्ति र पारिवारिक सान्निध्यका लागि दौडियौँ। सरयूको मर्यादा, संगमको ज्ञान र काशीको भक्तिलाई हृदयमा बोक्दै घर फर्कनु नै यो यात्राको सबैभन्दा ठूलो उपलब्धि हो। यो दिव्य दौडले मेरो र मेरो परिवारलाई एउटा नयाँ ऊर्जा दिएको छ जुन जीवनभरि अमूल्य सम्पत्ति बन्नेछ।






