जापानले एसिया रग्बी फिफ्टिन्स इमिरेट्स महिला च्याम्पियनसिपको उपाधि बराबर गर्यो

कजाखस्तानको अल्माटीमा आयोजना भइरहेको एसिया रग्बी फिफ्टिन्स इमिरेट्स महिला च्याम्पियनसिपमा उपाधि जापानले जितेको छ। जापानले कजाखस्तान र हङकङ चीनलाई पराजित गरी प्रतियोगिताको शीर्ष स्थान हासिल गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्य–सचिव टंकलाल घिसिङले जापानलाई पुरस्कार वितरण गरेका छन्।
प्रतियोगितामा एसियाका शीर्ष तीन वरीयतामा रहेका राष्ट्र जापान, हङकङ चीन र कजाखस्तानले प्रतिस्पर्धा गरिरहेका थिए। सिंगल राउन्ड रोविन प्रणालीमा आधारित यस प्रतियोगितामा जापानले पहिलो खेलमा कजाखस्तान र दोस्रो खेलमा हङकङ चीनलाई पराजित गरी उपाधि जितेको हो। लिगको अन्तिम खेल भने कजाखस्तान र हङकङ चीनबीच मे १० तारिखमा हुने बाँकी छ।
विजेता जापान टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य–सचिव टंकलाल घिसिङले पुरस्कार वितरण गरेका थिए। घिसिङ, जो एसिया रग्बीका उपाध्यक्ष पनि हुन्, पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले पुरस्कार वितरणपछि फेसबुकमा लेखेका छन्, ‘अल्माटीमा सम्पन्न एसिया रग्बीको पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन पाउँदा सम्मान महसुस गरिरहेको छु। जापानलाई जितको लागि हार्दिक बधाई छ। तपाईंहरूको अनुशासन, टिम वर्क र जोशले साँच्चै एसियाली रग्बीमा उत्कृष्टताको नयाँ मानक सेट गरेको छ।’






