

चीनले नवीकरणीय स्रोतहरूको पुनःप्रयोगमा नयाँ नीति जारी गर्यो


चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणाली व्यवस्थित गर्न र उद्योगको उच्च गुणस्तरीय विकास प्रवद्र्धन गर्न नयाँ निर्देशिका जारी गरेका छन्। यस निर्देशिकामा विद्युतीय सवारीसाधन, लिथियम–आयन ब्याट्री र सौर्य ऊर्जा उत्पादनबाट निस्कने ठोस फोहोरको संकलन, व्यवस्थापन र विघटनलाई प्राथमिकता दिइएको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार, यस निर्देशिकाले स्रोतहरूको पुनःप्रयोग प्रणाली विकासका लागि १६ वटा प्रमुख कार्य समेटेको छ। १ मङ्सिर, बेइजिङ (रासस/सिन्ह्वा)।
नयाँ निर्देशिकामा विद्युतीय सवारीसाधन, लिथियम–आयन ब्याट्री र फोटोभोल्टिक उत्पादनबाट निस्कने ठोस फोहोरको व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ। यी तीन क्षेत्रलाई चीनले ‘नयाँ तीन’ (न्यु थ्री) का रूपमा वर्गीकरण गरेको छ। स्थानीय अवस्थाअनुसार विभिन्न प्रकारका पुनःप्रयोग मोडल छनोट र कार्यान्वयन गर्न पनि निर्देशिकाले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। यसमा नवीकरणीय स्रोत, ठूला तथा पुराना फर्निचर र प्रयोगविहीन घरेलु विद्युतीय उपकरणको व्यवस्थापन समेटिएको छ।
‘नयाँ तीन’ अन्तर्गतका उत्पादनबाट निस्कने ठोस फोहोरको पुनःप्रयोग र व्यवस्थापनका लागि समग्र योजना अघि सारिएको छ। विशेषगरी विद्युतीय सवारीसाधनका पावर ब्याट्री व्यवस्थापनमा देखिएका कमजोरी हटाउने, फोटोभोल्टिक उपकरणको पुनःप्रयोग र उपयोग प्रणाली सुधार गर्ने लक्ष्य निर्देशिकाले लिएको छ। यसका लागि उत्पादनको डिजाइन, निर्माण, प्रयोग, संकलन, व्यवस्थापन, विघटन र पुनःप्रयोगसम्मको सम्पूर्ण शृङ्खलालाई व्यवस्थित र सहज बनाउनेमा जोड दिइएको छ।
निर्देशिका जारी गर्ने नौ सरकारी निकायमा चीनको वाणिज्य मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार आयोग र उद्योग तथा सूचना प्रविधि मन्त्रालयलगायतका विभाग रहेका छन्। चीनले यस कदममार्फत स्रोतसाधनको दिगो उपयोग र फोहोर व्यवस्थापनमा सुधार ल्याउने लक्ष्य राखेको छ।

सम्बन्धित खबर









