Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

यमनमा हुथी विद्रोहीको तीव्र विस्तार, साउदी गठबन्धनलाई ठूलो धक्का

Advertisement800×200-1

साउदी अरबले यमनमा हुथी विद्रोहीको विरूद्धको आफ्नो नेतृत्वको सैन्य गठबन्धनका कमान्डरलाई पदबाट हटाएको छ। सैन्य अभियानमा साउदी समर्थित यमनी सरकारी सेनाले ठूला रणनीतिक भूभागहरू गुमाउँदै पछि हट्नुपरेपछि साउदी अरबले यो कदम चालेको हो। यो सैन्य धक्कालाई रियादको यमन अभियानका लागि एक गम्भीर असफलताका रूपमा हेरिएको छ। यसै वर्षको अमेरिका र इरानबीचको युद्ध भड्किएसँगै सन् २०२२ देखि सुषुप्त अवस्थामा रहेको यमनको गृहयुद्ध पुनः बल्झिएको थियो। त्यसयता हुथी विद्रोहीहरूले साउदी समर्थित यमनी सरकारविरुद्ध भूभाग कब्जा गर्दै आएका छन्। जसले साउदी अरबलाई पुनः प्रत्यक्ष सैन्य टकरावमा तानेको छ।

सलमानको शाही आदेश साउदी सरकारी सञ्चारमाध्यमका अनुसार साउदी राजा सलमान बिन अब्दुलअजिज अल साउदले सोमबार एक शाही आदेश जारी गर्दै साउदी नेतृत्वको गठबन्धन सेनाको कमान्डमा व्यापक परिवर्तन गरेका हुन्। उक्त आदेश अनुसार गठबन्धनका वर्तमान कमान्डर लेफ्टिनेन्ट जनरल फहद बिन हमद अल–सलमानलाई उक्त जिम्मेवारीबाट हटाएर रक्षामन्त्रीको सैन्य मामिला सल्लाहकारमा नियुक्त गरिएको छ। उनको स्थानमा साउदी सशस्त्र बलका प्रमुख जनरल फयाद अल–रुवैलीलाई संयुक्त सेनाको कमान्ड सम्हाल्ने अतिरिक्त जिम्मेवारी सुम्पिएको छ।

यमनले गत अक्टोबरमा गरेको प्रत्याक्रमणमा केही भूभाग फिर्ता लिएको थियो। आइतबार विश्व व्यापारको प्रमुख समुद्री मार्ग बाबल मन्देब आसपासका क्षेत्रहरूबाट आफ्ना सेना फिर्ता बोलाएको घोषणा गरेको छ। दक्षिणी तटीय बन्दरगाह सहर अडेन स्थित आफ्नो मुख्य प्रशासनिक तथा सैन्य आधार जोगाउन सेना पछि हटाइएको सरकारले जनाएको छ। यमनी सेनाका स्रोतहरूले सोमबार बताए अनुसार हुथी लडाकुहरू अडेनबाट करिब १०० किलोमिटर पश्चिममा पर्ने दक्षिणी तटीय क्षेत्र खोर ओमैरा सम्म आइपुगेका छन्। उनीहरू अर्को तटीय क्षेत्र कावाहस्थित सरकारी सेनाको रक्षा पङ्क्तिबाट मात्र २५ किलोमिटरको दूरीमा छन्।

सन् २०१४ मा हुथीहरूले राजधानी साना कब्जा गरेयता अडेन नै यमनी सरकारको शक्ति केन्द्र रहँदै आएको छ। अडेनका स्थानीय बासिन्दाहरूका अनुसार सरकारी सुरक्षा बलले सहरभित्र जाँच चौकीहरू बढाएको छ। र, नागरिकहरूको परिचयपत्र जाँचमा कडाइ गरेको छ। अडेनमा खाद्यान्न र इन्धनको आपूर्ति सहज रहे पनि सरकारी सेना पछि हटेको खबर र लडाइँ अडेनको नजिक आउन सक्ने सम्भावनाले सर्वसाधारणहरू निकै चिन्तित बनेका छन्। रक्षात्मक अवस्थामा सरकार यमन सरकारका अधिकारीहरूका अनुसार, सरकारको मुख्य ध्यान अब अडेन सहर र छिमेकी लाहज प्रान्तलाई सुरक्षित राख्नुमा केन्द्रित छ।

हुथीहरूले कब्जा गरेका क्षेत्रहरू पुनः फिर्ता लिनका लागि सरकारी सेनालाई अग्रपङ्क्तिमा पुनः परिचालन र पुनर्संगठित गर्ने काम भइरहेको स्रोतहरूले जनाएका छन्। केही विश्लेषकहरूका अनुसार, सरकारी पक्षले व्यहोरेको यो हारको मुख्य कारण सरकारी फौजभित्रको आन्तरिक विभाजन र गुटबन्दी हो। वर्षौँदेखिको आपसी असहमति र आन्तरिक कलहका कारण कमजोर बनेको सरकारी फौजको फाइदा हुथी विद्रोहीहरूले उठाइरहेका छन्। यमन युद्ध पुनः चर्किएयता हुथीहरूले साउदी अरबका विमानस्थल र तेल प्रशोधन केन्द्रहरूमा ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएका छन्। यमनको गृहयुद्ध पुनः सुरु भएपछि हुथी विद्रोहीहरूले लाल सागरको तटीय क्षेत्र र बाबल मन्देब जलमार्गमा कब्जा जमाएका थिए। साथै, उनीहरूले अडेन जाने पहाडी मार्गमा पर्ने देशको तेस्रो ठूलो सहर ताइजमा रहेका सरकारी फौजलाई समेत घेराबन्दीमा पारेका छन्। गत महिना साउदी समर्थित फौजले जलमार्ग आसपासको धुबाब जस्ता प्रमुख स्थानहरू फिर्ता लिए पनि हुथीहरूलाई उक्त क्षेत्रबाट पूर्ण रूपमा लखेट्न र तटीय सहर अल मोखा पुनः कब्जा गर्न असफल भएका थिए। यमनमा हुथीहरूको यो सैन्य सफलता तथा साउदी अरब र लाल सागरको पानीजहाज मार्गमा भइरहेका आक्रमणले बृहत् मध्यपूर्व द्वन्द्वमा इरानको रणनीतिक अवस्थालाई थप बलियो बनाएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर