
२३ वैशाख, सप्तरी। जेनजी आन्दोलन क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको आरोप लागेको राजकिशोर यादवलाई सप्तरी जिल्ला अदालतले ३५ हजार रुपैयाँ धरौटीमा छाड्ने निर्णय गरेको छ। जिल्ला न्यायाधीश शम्भु गौतमको इजलासले यादवलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
यादवमाथि बोदेबर्साइन नगरपालिका कार्यालय र इलाका प्रशासन कार्यालय नजिकै रहेको सरोज रानीसिँह यादवको घरमा भएको तोडफोडमा संलग्नताका आरोप लगाइएको छ। बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र सरोज रानीसिँह यादवले यादवविरुद्ध जाहेरी दिएका थिए। उक्त जाहेरीको आधारमा यादवसहित ११ जनाविरुद्ध फागुन १४ गते आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। यादव आफ्नो मुद्दामा बुधबार सप्तरी जिल्ला अदालतमा उपस्थित भएका थिए। यसअघि सोही मुद्दामा नामजारी अन्य अभियुक्त राजुकुमार यादव, रमेशकुमार साह र सुरेन्द्रप्रसाद साह धरौटीमा रिहा भइसकेका छन्।






