Skip to main content

बाजुराको गुइगाड पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई १८ करोडभन्दा बढी जरिवाना

सडक डिभिजन साँफेबगर अछामले १५ वर्षसम्म अलपत्र राखेको गुइगाड खोलामा पुल निर्माण गर्ने कम्पनीलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिवाना गरेको छ। निर्माण कम्पनी राजेन्द्र–थेगी जेभीले पुल निर्माण २०७० साउन ३० भित्र सम्पन्न गर्ने सम्झौता गरेको भए पनि कार्य पूरा नगरेपछि ठेक्का २०८३ मंसिर १५ मा रद्द गरिएको थियो। पुल कमजोर भएकाले ३० टन भन्दा बढी लोड समेत नबोक्ने भएपछि सडक डिभिजनले एक पटकमा एउटा मात्र गाडी चलाउन अनुमति दिने साइनबोर्ड टाँसिएको र जरिवाना रकम असुल गर्न प्रक्रिया अगाडि बढाएको छ। २४ वैशाख, बाजुरा।

सडक डिभिजन साँफेबगर अछामले बाजुराको गुइगाड खोलामा १५ वर्षसम्म पुल पूर्ण रूपमा सम्पन्न नगरी अलपत्र छोड्ने निर्माण कम्पनीलाई १७ करोड ९९ लाख ३२ हजार ४ रुपैयाँ जरिवाना लगाइएको छ। जरिवाना रकम असुल गर्न प्रक्रिया अघि बढाइएको डिभिजनले जनाएको छ। पटकपटक काम सम्पन्न गर्न पत्राचार गर्दा पनि बेवास्ता भएपछि निर्माण कम्पनी राजेन्द्र–थेगी जेभीलाई जरिवानाका लागि सार्वजनिक सूचना जारी गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सुभाष शाहले जानकारी दिए।

२०७८ मंसिर १५ गते नै ठेक्का रद्द भएको सडक डिभिजन अहिले रकम असुल गर्न अन्तिम चरणमा पुगेको छ। २०७८ चैत ९ गते रकम दाखिला गर्न ३५ दिने सूचना जारी गरिएकोमा समयमा जरिवाना नतिरेपछि यो अन्तिम प्रक्रियामा पुगेको हो। ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ४७ (३) तथा आर्थिक कार्यविधि तथा वित्तीय नियमावली, २०७७ को नियम ९० (५) बमोजिम सरकारी बाँकी रकम असुलका लागि लगत कायम गरेर कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाइनेछ,’ सूचनामा भनिएको छ।

बाजुरा सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे–मार्तडी सडक खण्डमा पर्ने गुइगाड खोलामा पुल निर्माण नहुँदा जोखिमपूर्ण रूपमा यातायात संचालन भइरहेको छ। उक्त पुल जोखिममा रहेको भन्दै सडक डिभिजन कार्यालय अछामले एक पटकमा एउटा मात्र गाडी चलाउन बोर्ड राखेको छ। कार्यालयले पुल जोखिममा रहेकाले बेलिब्रिज बनाउनका लागि सडक डिभिजन केन्द्रीय कार्यालयमा बजेट माग गरेको थियो। तर केन्द्रबाट नयाँ बेलिब्रिज बनाउन, पुल अलपत्र पार्ने ठेकेदारबाट जरिवाना असुल नभएसम्म अर्को ठेक्का गर्न नपाउने निर्देशन आएको सडक डिभिजन साँफेबगरले जनाएको छ।