
२४ वैशाख, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ खिला नजिक बसले ठक्कर दिएका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी पप्पु भनेर चिनिने ३६ वर्षीय श्याम ठाकुर रहेका छन्, प्रहरीले जनाएको छ। प्रहरीले जानकारी दिनुभए अनुसार बिहीबार बिहान ग १ ख ९४६७ नम्बरको बसले ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ठाकुरलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। अस्पतालका चिकित्सकले उनीलाई मृत घोषणा गरेका छन्, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। प्रहरीले दुर्घटनामा संलग्न बस र बसधनी पर्सा गाउँपालिका–२ का २७ वर्षीय मानिष कुमार महतोलाई नियन्त्रणमा लिएको छ। तर, बस चालक कविलासी नगरपालिका–१० सलेमपुरका ४५ वर्षीय बद्री मण्डल भने फरार छन्। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।






