Skip to main content

भारतमा जनावरमाथि हुने क्रूरताको अवस्था अत्यन्तै भयानक

⚠️ हेर्नेहरूलाई सचेत: यस पोष्टमा जनावरमाथि हुने क्रूरतासँग सम्बन्धित तस्बिरहरू छन्। सचेतना र रिपोर्टिङका लागि साझा गरिएको। भारतमा जनावरमाथि हुने क्रूरताको अवस्था अत्यन्तै भयानक रहेको तथ्य सार्वजनिक भएको छ। नेसनल क्राइम रेकर्ड ब्यूरो (एनसीआरबी) ले सार्वजनिक गरेको ‘क्राइम इन इन्डिया २०२४’ प्रतिवेदन अनुसार जनावरमाथि हुने क्रूरताको अवस्था गम्भीर देखिएको छ। एनसीआरबीले पहिलोपटक जनावर विरुद्ध हुने अपराधको तथ्यांक छुट्टै सार्वजनिक गरेको हो। उक्त प्रतिवेदन अनुसार सन् २०२४ मा देशभर जनावरमाथि क्रूरता गर्ने कुल ९ हजार ३९ मुद्दा दर्ता भएका छन्। ती मुद्दामा संलग्न १० हजार ३१२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये ९९.५ प्रतिशत अर्थात् १० हजार २५७ जना वयस्क पुरुष हुन्।
प्रतिवेदन अनुसार जनावरमाथि हुने अपराधको अनुसन्धानमा प्रहरीले सक्रियता देखाएको छ। प्रहरीले ९६.७ प्रतिशत मुद्दामा अदालतमा आरोपपत्र (चार्जसिट) दायर गरिसकेको छ। यद्यपि, न्यायिक प्रक्रियामा ढिलाइ भएको उल्लेख गरिएको छ। अदालत पुगेका मुद्दामध्ये ८२.२ प्रतिशत अझै विचाराधीन छन्। केही मुद्दा १० वर्षभन्दा बढी समयदेखि फैसला नआइ पर्खिइरहेका छन्। तर, फैसलामा ८०.५ प्रतिशत मुद्दामा सजाय गरिएको छ भने महानगर क्षेत्रहरूमा सजाय हुने दर ९३.३ प्रतिशतसम्म छ। त्यस्तै भारतमा क्रूरतासँगै जनावर चोरीका घटनाहरू पनि उल्लेखनीय छन्। उक्त वर्षमा ८ हजार ६६० जनावर चोरीका मुद्दा दर्ता भएका छन्। ती जनावरहरूको कुल बजार मूल्य करिब ४८ करोड ८० लाख भारु मूल्याङ्कन गरिएको छ। चोरी भएका ४४.९ प्रतिशत जनावरहरू प्रहरीले फेला पार्न सफल भएको छ, जुन अन्य चोरी भएका सम्पत्तिको तुलनामा राम्रो बरामद दर हो। अब भारतमा राष्ट्रिय स्तरमा तथ्यांक उपलब्ध हुँदा यस्ता मुद्दाहरूको प्रकृति बुझ्न र अपराध रोक्न सहजता हुने बताइएको छ।