Skip to main content

नेपालको विद्युत् युरोप निर्यात गर्ने सम्भावना

एसियाली विकास बैंकले पान, एसिया पावर ग्रिड इनिसियटिभमार्फत २०३५ सम्म एसिया प्यासिफिक क्षेत्रलाई विद्युत् प्रसारण लाइनले जोड्ने योजना ल्याएको छ। यो परियोजनाले २० करोड जनताले सुधारिएको विद्युत् पहुँच पाउने, ८ लाख ४० हजार रोजगारी सिर्जना गर्ने र ऊर्जा क्षेत्रको कार्बन उत्सर्जन १५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ। नेपालले ऊर्जा रणनीति बनाउँदा आफूलाई प्रमुख स्वच्छ ऊर्जा साझेदारका रूपमा प्राथमिकता दिन आग्रह गर्दै, नवीकरणीय र स्वच्छ ऊर्जाको सञ्जाल सुदृढ गर्न तयार रहेको बताएको छ। २५ वैशाख, काठमाडौं।

नेपालले भारतमा विद्युत् निर्यात गरेजस्तै फ्रान्स वा जर्मनीलाई पनि पठाउन सक्ला? अहिले यो धेरै मानिसका लागि श्वैरकल्पना लाग्न सक्छ। तर, अहिले एसियाभर यस्तो ठूलो योजनामा काम भइरहेको छ, जुन सफलतापूर्वक कार्यान्वयन भयो भने यो यथार्थमा परिणत हुन सक्छ। एसियाली विकास बैंकको ५९ औं वार्षिक बैठकको क्रममा बैंक अध्यक्ष मासातो कान्दाले एक महत्वाकांक्षी घोषणा गरे– पान, एसिया पावर ग्रिड इनिसियटिभ (पाजी), जसले पूरा एसिया तथा प्यासिफिक क्षेत्रलाई प्रसारण लाइनमार्फत जोड्ने लक्ष्य राखेको छ।

क्षेत्रीय मात्रै होइन, अन्तर क्षेत्रीय प्रसारण लाइनमार्फत युरोपेली क्षेत्र, अफ्रिकी क्षेत्रसँग समेत विद्युत् पहुँच विस्तार गर्ने उद्देश्य यो परियोजनाको छ। विशेष गरेर एसिया तथा प्यासिफिक क्षेत्रलाई नवीकरणीय ऊर्जाको केन्द्र बनाउने, यी क्षेत्रका सबै मुलुकबीच एकअर्कासँग विद्युत् आदानप्रदानमार्फत ऊर्जा सुरक्षालाई सुदृढ पार्ने र क्षेत्रभित्र ऊर्जा विभेद हटाउने लक्ष्य राखिएको छ। एसियाली विकास बैंकले आगामी १० वर्ष अर्थात् सन् २०३५ सम्ममा ५० अर्ब अमेरिकी डलर लगानी यस क्षेत्रमा जुटाउने घोषणा समेत गरेको छ।