
हिमालय टेलिभिजन नेटवर्कले नयाँ ‘हिमालय स्पोर्ट्स’ च्यानलको औपचारिक घोषणा गरेको छ। हिमालय टेलिभिजनले फिफा विश्वकप २०२६ को विशिष्ट प्रशारण अधिकार हासिल गरेको छ। नेपालमा फिफा विश्वकप प्रत्यक्ष प्रशारणका लागि हिमालय स्पोर्ट्सले एस प्रो मिडियासँग सम्झौता गरेको छ। २५ वैशाख, काठमाडौं।
नेपालको एक प्रतिष्ठित सञ्चार समूह हिमालय टेलिभिजन नेटवर्कले ‘हिमालय स्पोर्ट्स’ च्यानल आधिकारिक रूपमा सार्वजनिक गरेको छ। शुक्रबार साँझ राजधानी काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रममा ‘हिमालय स्पोर्ट्स’ च्यानलको औपचारिक घोषणा गरिएको हो। त्यस्तै, फिफा विश्वकप २०२६ का लागि विशिष्ट प्रशारण अधिकार पनि हिमालय टेलिभिजनले प्राप्त गरेको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकपको प्रशारणका लागि हिमालय स्पोर्ट्स र ‘डीगो एप’ बीच सम्झौता भएको छ। नेपालका लागि एस प्रो मिडियाले फिफा विश्वकपको प्रशारण अधिकार पाएको छ।
सोही कम्पनीमार्फत हिमालय स्पोर्ट्सले नेपालमा विश्वकप प्रत्यक्ष प्रसारण गर्नेछ। यो कदमले नेपाली खेलकुदको भविष्यमा नयाँ बाटो खोल्ने विश्वास हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले व्यक्त गरे। ‘फिफा विश्वकप प्रसारण अधिकार पाउँदा गर्वको अनुभूति भयो,’ उनले औपचारिक घोषणाका क्रममा भने। साथै, हिमालय स्पोर्ट्सका सीईओ सुरज गिरिले यो कदम नेपाली खेलकुदमा ऐतिहासिक छलाङ भएको टिप्पणी पनि गरे।






