
कोहलपुर रेसिङ सहारा क्लबले चौथो कोहलपुर गोल्डकप २०८३ को उपाधि आफ्नो नाम गरेको छ। फाइनल खेलको सामान्य समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सम्म पुगेको थियो र अन्ततः सडन डेथमा कोहलपुर रेसिङ सहाराले जीत सुनिश्चित गर्यो। कोहलपुर रेसिङ सहारा क्लबले ट्रफी, मेडल र प्रमाणपत्रसहित आठ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने नेपाल पुलिस क्लबले चार लाख रुपैयाँ पुरस्कार हात पार्यो।
फाइनलको निर्धारित समयमा दुवै टोलीले समान १–१ गोल गर्दा खेल टाइब्रेकरमा पुगेको थियो। खेलको सुरुमा पाँचौं मिनेटमै कोहलपुर रेसिङ सहारा क्लबका चेतन चौधरीले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफको प्रारम्भमै नेपाल पुलिसका सञ्जिव लामाले उत्कृष्ट गोल फर्काएपछि दुई टोली बराबरीमा पुगेका थिए। ९० मिनेटसम्म थप गोल नहुने भएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो।
पेनाल्टी पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा रेसिङ सहाराका फागुराम चौधरी, चेतन चौधरी, सन्दिप केसी र सुजन मगरले गोल गर्दै नतिजा आफ्नो पक्षमा पुर्याए। नेपाल पुलिसका राम वाजी, सन्जिव लामा र हेमन्त श्रेष्ठले मात्र गोल फर्काउन सके।
विजेता कोहलपुर रेसिङ सहारा क्लबले ट्रफी, मेडल, प्रमाणपत्रसहित आठ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिस क्लबले मेडल र प्रमाणपत्रसहित चार लाख रुपैयाँ पुरस्कार पाएको छ। साथै कोहलपुर रेसिङ सहारा क्लबका कप्तान तथा गोलरक्षक मुकुन्द घर्तीमगरलाई प्लेयर अफ द टुनामेन्ट घोषित गर्दै ५१ हजार रुपैयाँ पुरस्कार समेत प्रदान गरियो।






