Skip to main content

कुलमान घिसिङले मुगलिन सडक विस्तारमा रोकबारे गम्भीर चिन्ता व्यक्त गरे

२६ वैशाख, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उपत्यकालाई जोड्ने मुगलिन सडक विस्तार रोकिएको विषयलाई अत्यन्त चिन्ताजनक भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। शनिबार उनले फेसबुकमार्फत यसबारे जानकारी दिएका छन्। उनले भने, ‘काठमाडौं उपत्यकालाई देशसँग जोड्ने मुख्य जीवनरेखा नागढुङ्गा–नौबिसे–मुग्लिन सडक विस्तार कार्य हाल लगभग ठप्प अवस्थामा पुगेको देखिनु अत्यन्त चिन्ताजनक विषय हो।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा उनले आवश्यक पहल र समन्वयका कारण उक्त सडकको निर्माणमा तीव्रता आएको दाबी गरेका छन्। उनले भने, ‘तर अहिले निर्माण सामग्री अभाव, मूल्यवृद्धि लगायतका कारण देखाउँदै काम रोक्नु हरेक दिन हजारौं यात्रु जोखिमपूर्ण र कष्टकर यात्रामा बाध्य भएको अवस्था निम्त्याएको छ। विशेषगरी वर्षायाम नजिकिंदै गरेको अवस्थामा सडकको काम रोकिनु अझै गम्भीर विषय बन्दै गएको छ।’

यो सडकबाट दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्ने हुँदा सडक विस्तारमा भएको ढिलाइले दुर्घटना जोखिम, लामो जाम, आर्थिक क्षति र जनताको दुःखी जीवन बढाउने निश्चित भएको उनले बताए। घिसिङले भने, ‘यो केवल सडक निर्माणको विषय मात्र होइन, राजधानीको आपूर्ति, अर्थतन्त्र र नागरिकको दैनिक जीवनसँग जोडिएको संवेदनशील सवाल हो। त्यसैले निर्माण कार्य तुरुन्त सुचारु गरी प्रभावकारी ढंगले अघि बढाउन सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’ उनले निर्माण व्यवसायीको न्यायोचित माग सम्बोधन गर्न सरकारसँग अनुरोध पनि गरेका छन्।