Skip to main content

मह काढ्ने परम्परालाई जीवित राख्न पुस्ता हस्तान्तरण गर्दै

२७ वैशाख, मनाङ । विश्वका सबैभन्दा साहसिक र जोखिमयुक्त कार्यहरूमध्ये एक भिर मौरीको मह सिकार पनि पर्छ । यो जोखिमयुक्त मह सिकार गण्डकी प्रदेशका लमजुङ, गोरखा, म्याग्दी जस्ता जिल्लाहरूमा गरिन्छ । यी मध्ये लमजुङ जिल्ला सबैभन्दा बढी भिर मौरीको सिकारका लागि परिचित छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ मिप्रागाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका चाकाबाट मह निकाल्न स्थानीयहरू डोरीमा झुन्डिएर आफ्नो ज्यान जोखिममा राख्दै मह सिकार गर्छन् । यो कार्यले यहाँका स्थानीयहरूमा मात्र नभई पर्यटकहरूमा समेत आकर्षण ल्याएको छ । गाउँको परम्परागत पेशालाई जीवित राख्ने उद्देश्यका साथ स्थानीयहरू भिर मौरीको मह काढ्ने कार्यमा संलग्न हुँदै आएका छन् भन्ने स्थानीयहरूले बताए।

स्थानीय सिकारी टेकबहादुर गुरुङ भन्छन् कि भिर मौरीको मह काढ्ने परम्परालाई निरन्तरता दिँदै पुस्ता हस्तान्तरणमा जोड दिइएको छ । पहिले यो कार्यमा ज्येष्ठ नागरिकहरू मात्र सहभागी हुन्थे, तर अहिले यसलाई जीवन्त राख्न पुस्ता हस्तान्तरणलाई प्राथमिकता दिइएको छ। ‘भिर मौरीको मह औषधिको रूपमा प्रयोग गरिन्छ । औषधिको उद्देश्यले जोखिम मोलेर भिरबाट मह निकाल्दै आएका छौँ’, गुरुङले बताए, ‘भिर मौरीको महको माग पनि उच्च छ ।’ वर्षको दुई पटक मह निकालिने गर्दछ भन्ने उनले थपे।

गुरुङका अनुसार ‘पहिलो चरणमा मह वैशाखको अन्तिम सातादेखि जेठको दोस्रो साताभित्र निकाल्नुपर्छ भने दोस्रो चरणमा असोज अन्तिम सातादेखि कात्तिकको दोस्रो सातामा निकालिसक्नुपर्छ । मह निकाल्दा शुक्रबारमात्र जाँदैछ भन्ने परम्परा छ । मह प्रचुर भएमा दुई दिनसम्म लगाएर निकालिने गरेको छ।’ मौरी सिकार गर्न तिथी मिलाएर जङ्गलबाट निगालो ल्याउने गरिन्छ र त्यसबाट चोया बनाई लठ्ठा बनाइन्छ । आगोमा तताएर ती लठ्ठाबाट गाउँलेहरूले मिलेर भर्याङ बनाउँछन् । एकपटक बनाइएको भर्याङ ३–४ वर्षसम्म प्रयोग गर्न सकिन्छ।

भर्याङ तयार भएपछि गाउँलेहरू एकसाथ भिरमा गई मह सिकारका लागि जाने गर्दछन् । विश्वकै साहसिक पेशा मध्येको एकका रूपमा परिचित यो कार्य विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ भने यसबाट गाउँको आय आर्जन भइरहेको छ भन्ने सिकारी मीनबहादुर गुरुङले बताए। ‘पहिले मुख मात्र छोपेर मह निकालिन्थ्यो, अहिले त पूर्ण शरीर छोपेर निकाल्ने गरिएको छ, जसले जोखिम कम गरेको छ,’ उनीले भने। मौरीले कम चिल्दा थेरापीको रूपमा काम गर्छ, तर बढी चिल्दा मानिसको ज्यानै जान सक्ने जोखिम हुन्छ, गुरुङले थप जानकारी दिए।

पहिले भिर मौरीको मह स्थानीय क्षेत्रमा सीमित रूपमा औषधिका रूपमा प्रयोग हुन्थ्यो। मानवीय विकाससँगै पहिरनमा परिवर्तन हुँदै गएका कारण पूर्ण कपडाले ढाक्ने चलन बढेको छ र सुरक्षित रूपमा मह सिकार गर्न सहज भएका छन् भन्ने स्थानीयहरूको भनाइ छ । पहिले स्थानीय जनताको सहभागितामा मात्र निकालिने मह अहिले विदेशी पर्यटकको आकर्षणमा समेत परिणत भएको छ, गुरुङले बताए। हाल भिर मौरीको मह सिकार हेर्न विदेशी पर्यटक आउने गर्छन्, स्थानीयहरूले जानकारी दिए। पर्यटकलाई आकर्षित गर्दै प्राकृतिक र साहसिक यस कार्यको संरक्षण र निरन्तरता दिनुपर्ने बताउँदै टर्कीका नागरिक केमलले भने, ‘यो जोखिमपूर्ण कार्य हो तर यहाँका स्थानीयहरूको साहसले सबैलाई लोभ्याएको छ। प्राकृतिक जोखिमको साथमा यसलाई आय आर्जनसँग जोड्न सकिनुपर्छ।’ केमलले मह निकाल्ने प्रक्रियामा स्थानीयले देखाएको साहस देख्दा खुसी व्यक्त गर्दै भने, ‘मैले निकालेको महमा केही मौरीहरू बसेको देख्दा पनि डर लागेको थियो। नेपालीहरू साँच्चै साहसी छन्, जुन कुरा मैले आफ्ना आँखाले देखेर बुझें।’ भिर मौरीको मह काढ्ने परम्परा मात्र नभई यसको औषधीय गुणका कारण माग पनि अझ बढी रहेको छ। यसलाई निरन्तरता दिने आवश्यकता स्पष्ट छ। प्राकृतिक उपजका रूपमा यसलाई विकास गरी आय आर्जनको माध्यम बनाउँदै संरक्षण र प्रवर्द्धन गर्ने अवस्था देखिन्छ। यस परम्परालाई जीवित राखेर विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउने प्रयासमा सबैको ध्यान जानुपर्ने हुन्छ।