
२७ वैशाखका दिन पिटर मग्यार हङ्गेरीको नयाँ प्रधानमन्त्रीको रूपमा पदबहाली गर्दै शपथ ग्रहण गरे। टिस्जा पार्टीले २०२६ को निर्वाचनमा दुईतिहाइ बहुमतसहित ऐतिहासिक जित हात पारेको छ। मग्यारले भ्रष्टाचार अनुसन्धानका लागि विशेष निकाय स्थापना गर्ने र लोकतान्त्रिक सन्तुलन कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
२७ वैशाख, बुडापेस्ट। हङ्गेरीको टिस्जा पार्टीका नेता पिटर मग्यारले शनिबार देशका नयाँ प्रधानमन्त्रीको रूपमा पद ग्रहण गरे। मध्य–दक्षिणपन्थी टिस्जा पार्टीले गत महिना पूर्वप्रधानमन्त्री भिक्टर ओर्बान नेतृत्वको राष्ट्रवादी–लोकप्रियतावादी फिडेज पार्टीमाथि आश्चर्यजनक रूपमा जीत हासिल गर्दै संसद्मा दुईतिहाइ बहुमत प्राप्त गरेको थियो। टिस्जा पार्टी हङ्गेरीमा अहिलेसम्मकै सबैभन्दा बढी मत र सिट पाउने दल बनेको छ। यसको कारणले नयाँ सरकारले पूर्वप्रधानमन्त्री ओर्बानका अधिनायकवादी र दक्षिणपन्थी नीतिहरू हटाउन सजिलो हुनेछ।
शपथ ग्रहणपछि संसद्मा सांसदहरूमाझ सम्बोधन गर्दै मग्यारले भने, “म शासनका लागि होइन, मातृभूमिको सेवा गर्न यहाँ आएको हुँ। म अरू कुनै नेताभन्दा फरक खडा छु।” उनले थपे, “लाखौँ हङ्गेरीवासीले परिवर्तनको पक्षमा मत दिएका छन् र म उनीहरूको परिवर्तनको वाहक बनेँ।” उनले जनताको विश्वासलाई नैतिक दायित्व र अनुपम भावना माने।
निर्वाचन अभियान अवधिमा मग्यारले लोकतान्त्रिक संस्थाहरू पुनर्स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए। ओर्बानको १६ वर्षे शासन अवधिमा भ्रष्टाचार व्यापक भएको आरोप छ। नयाँ सरकारले युरोपेली सङ्घमा पनि राजनीतिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। ओर्बानले युक्रेन समर्थनका विषयमा निर्णयहरूमा ‘भिटो’ प्रयोग गरी युरोपेली सङ्घको एकतालाई चुनौती दिएका थिए।
पिटर मग्यार हाल हङ्गेरीको प्रधानमन्त्री र टिस्जा पार्टीका अध्यक्ष हुन्। उनी सन् १९८१ मार्च १६ मा बुडापेस्टमा जन्मेका कानुन व्यवसायी हुन्। २०२६ को संसदीय निर्वाचनमा उनले भिक्टर ओर्बानको १६ वर्षे शासन समाप्त गरी हङ्गेरीको राजनीतिमा नयाँ शक्ति भए। सुरुमा उनी ओर्बानको राष्ट्रवादी फिडेज पार्टीसँग नजिक थिए र सरकारी कर्मचारी पनि थिए। उनी हङ्गेरीकी पूर्वकानुन मन्त्री जुडित वर्ग्काका पूर्वपति हुन्।
सन् २०२४ फेब्रुअरीमा एउटा राजनीतिक काण्डपछि मग्यारले फिडेज पार्टी र सरकारी भ्रष्टाचारको कडा आलोचना गर्दै सबै सरकारी पद र पार्टी छाडेका थिए। फिडेज छाडेपछि टिस्जा पार्टीको नेतृत्व लिएर दुई वर्षमै २०२६ को चुनावमा दुईतिहाइ बहुमतसहित ऐतिहासिक जित सुनिश्चित गरे। उनको मुख्य एजेन्डा भ्रष्टाचार अन्त्य गर्नु हो, जुन ओर्बान शासनकालमा बढेको थियो। उनले भ्रष्टाचारको अनुसन्धानका लागि विशेष निकाय गठन गर्ने योजना ल्याएका छन्।
मग्यारले युरोपेली सङ्घसँग बिग्रिएको सम्बन्ध सुधार्न र हङ्गेरीमा लोकतन्त्रको सन्तुलन कायम राख्न प्रतिबद्धता जनाएका छन्। उनी प्रजातान्त्रिक मूल्य र युरोपेली सङ्घको पक्षमा आवाज उठाउँछन्, तथापि आप्रवासी नीतिमा भने परम्परावादी र अनुदारवादी दृष्टिकोण राख्छन्। सन् २०१० देखि शासन गर्दै आएका ओर्बानको शक्तिलाई हटाएर हङ्गेरीलाई युरोपेली लोकतान्त्रिक मार्गमा फर्काउनु उनको लक्ष्य रहेको छ।






