
पाँचखाल नगरपालिकाले कृषिको उत्पादन प्रवर्द्धन गर्न दुई दिने कृषि मेला आयोजना गरेको छ। मेलामा आईपीएम प्रविधिबाट उत्पादन गरिएका कृषि उपजहरूको प्रदर्शनी, बिक्री र प्रतिस्पर्धात्मक कार्यक्रमहरू सञ्चालन गरिएको छ। नगर प्रमुख महेश खरेलले पाँचखालको तरकारी सेमी आर्ग्यानिक रहेको र १ हजार २०० कृषकलाई आईपीएम तालिम प्रदान गरिएको बताए।
२६ वैशाख, काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिकाले “कृषि शहर” को रुपमा विकास गर्ने लक्ष्यसहित कृषि उत्पादन प्रवर्द्धनका लागि यो मेला आयोजना गरेको हो। स्थानीय कृषकका उत्पादनलाई बजारसँग जोड्ने र कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजित यस मेलामा आईपीएम प्रविधिबाट उत्पादन गरिएका कृषि उपजहरूको प्रदर्शनी, बिक्री, बाली शिविर र प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गरियो।
मेलाको उद्घाटन नगर प्रमुख महेश खरेलले गरेका थिए। उनले यहाँको तरकारीमा विषादीको मात्रा न्यून रहेको जानकारी दिनुभयो। खरेलले भने, “पहिले पाँचखालको तरकारीमा अत्याधिक विषादी हुने गरेको थियो, तर अहिले यहाँको तरकारी सेमी आर्ग्यानिक छ।” उनले लवग्रीन नेपालसँगको सहकार्यमा १ हजार २०० भन्दा बढी कृषकहरूलाई आईपीएम पद्धतिबाट तरकारी खेती गर्ने तालिम दिइएको जानकारी पनि दिनुभयो।
खरेलले कृषकहरूको नेतृत्वमा साप्ताहिक कृषि हाट बजार सुरु गर्न आग्रह गर्दै नगरपालिकाले त्यसको सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। लवग्रीन नेपालका महासचिव राजिव रत्न शाक्यले पाँचखालमा विगत ९ वर्षदेखि आईपीएम सम्बन्धी काम भईरहेको बताए। कृषि मेलामा बाली शिविर, रैथाने उत्पादनहरूको प्रदर्शनी र बिक्री, प्रतिस्पर्धात्मक कार्यक्रमहरू, साथै कृषक र कृषक समूहसँग प्रत्यक्ष संवाद पनि गरिएको थियो।






