Skip to main content

धनुषाको ढल्केबरमा सुकुमबासीहरूको विरोध प्रदर्शन

धनुषाको ढल्केबरमा सुकुमबासीहरूले राष्ट्रिय भूमिका अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले “उठिवास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर, जीवन र जीविकाको अधिकार” जस्ता नारा लेखिएका प्लेकार्डसहित कोणसभा गरेका छन्।

भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुमबासीहरूको घरमा डोजर नलगाउन र बसेको जग्गाको लालपुर्जा उपलब्ध गराउन सरकारसँग आग्रह गरे। उनले भने, “सुकुमबासी व्यवस्थापनका लागि सरकारले बनाएको नीति सराहनीय छ। तर सुकुमबासीहरूको घरमा डोजर प्रयोग गर्नुको सट्टा यस अघि उचित व्यवस्थापन हुनुपर्ने र बसेको जग्गाको लालपुर्जा उपलब्ध गराउन हाम्रो सरकारलाई आग्रह छ।”

मिथिला नगरपालिका–३ दिनाभद्री सुकुमबासी टोलका गोविन्द सादा पनि वस्तीमा डोजर नचाल्न र लालपुर्जा उपलब्ध गराउन आग्रह गरिरहेका छन्।