
मण्डला थिएटरमा मञ्चन भइरहेको ‘ग्रान्ड रिहर्सल’ नाटकले जीवनमा सन्तुलन र असन्तुलनको लुपलाई प्रस्तुत गर्दछ। मान्छे सधैं जीवनमा सन्तुलन मिलाउन खोज्दछ, ताकि उसले कुनै पनि उद्देश्य सहज तरिकाले पूरा गर्न सकोस्। तर परिस्थिति सधैं त्यति सजिलो हुँदैन। मानिस अनेकौं समस्यामा पर्दै जान्छ र नतिजा स्वरुप कहिल्यै पूर्ण सन्तुलित रहँदैन। कहिले सन्तुलन बन्न लाग्दा केही बिग्रिन्छ भने कहिले सन्तुलन भइसकेपछि अनपेक्षित समस्या आउँछ। तर मानिस हार मान्दैन र समाधानका उपाय खोजी फेरि सन्तुलनमा फर्कन प्रयासरत रहन्छ। दु:खद सत्य के हो भने, कुनै पाटोमा पुन: यही प्रक्रिया फेरि दोहोरिन्छ। मञ्चन भइरहेको नाटक ‘ग्रान्ड रिहर्सल’मा यही प्रवृत्ति झल्किन्छ। सन्तुलन र असन्तुलन, समास र विग्रह, यही कुरा हो यो नाटक।
कहिलेकाहीं यो नाटकले रसियन चित्रकार काजिमिर मालेभिचका अमूर्त चित्रहरूलाई पनि सम्झाएर जान्छ। उनका चित्रहरू अनौठा र अप्रत्याशित हुन्थे। पातला, बाक्ला, मोटा, लामो, छोटो ज्यामितीय रेखा तथा वस्तुहरू अत्यधिक प्रयोग हुने ती चित्रहरू पूर्ण बनाउँदैनथे; तर उनको चित्रहरूले आफैंमा अपूर्णता बोकेको पूर्णता सजाउँथे। मालेभिचका चित्रहरूले कुनै कथा, वस्तु वा वास्तविक संसारको प्रतिनिधित्व नगरे पनि भावनात्मक रूपमा समृद्ध हुन्थे। यस्तैगरी ‘ग्रान्ड रिहर्सल’ लामो समयसम्म पूर्ण देखिदैन, तर दर्शकले यसमा पूर्णता अनुभूति गर्छन्। नाटकका पात्रहरू मालेभिचका ज्यामितीय वस्तु र क्यानभासका खाली स्थानजस्तै लाग्छन्। प्रदर्शनको माध्यमबाट यस नाटकले मालेभिचको सुपरम्याटिस्ट कला रंगमञ्चमा उतार्ने प्रयास गरेको छ।
मालेभिचले चित्रमा वस्तु, आकृति र यथार्थलाई पूर्णरूपमा हटाएर ‘ब्ल्याक स्वायर’मा पुर्याएका थिए। वस्तुको अनुपस्थिति र शुद्ध भावना महत्वपुर्ण हुने उनको मान्यता थियो। यसैगरी ‘ग्रान्ड रिहर्सल’ले परम्परागत नाटकका पूर्णता, कथानक र संरचना तोड्छ। प्रतिनिधित्वमुखी थिएटरलाई उल्टाएर यसको ठाउँमा अव्यवस्था, शारीरिक हाउभाउ र ऊर्जा उच्च प्राथमिकता पाउँछन्। जसरी मालेभिचको ‘ह्वाइट अन ह्वाइट’ चित्रले दर्शकमा शून्यता अनुभूति गराउँछ, त्यसै गरी यो नाटकले सबै व्यवस्था बिग्रँदा मात्र जीवन्तता दिने कुरा देखाउँछ। यो नाटक डिस्कन्स्ट्रक्सन हो, परम्परागत शैली तोडेर नयाँ आनन्द सिर्जना गर्ने।
थोरै थप चर्चा गर्दा, यो नाटक बेलायती नाटक ‘द प्ले ड्याट गोज रङ’को नेपाली रूपान्तरण हो। रूपान्तरण गर्दा मूल नाटकको मर्म समेटिएको छ। अनुवादक अनुप न्यौपाने र उमेश तामाङले स्थानीय रंग थपेर नेपाली संस्करणलाई प्रासंगिक बनाएका छन्। देख्दा लाग्दैन यो विदेशी नाटक हो। नाटकमा प्रस्तुत कथा ‘नाटक भित्रको नाटक’ हो। अर्थात् यहाँ हामी एउटा अपरिपक्क टोलीलाई थिएटरमा नाटक तयार पार्ने र rehearsals गर्दै गरेको देख्छौं। उनीहरूले ‘बिहेको टुटुल्को’ नामक सस्पेन्स थ्रिलर नाटकको अभ्यास गरी मञ्चन पनि गर्छन्। तर मञ्चनको क्रममा धेरै अनपेक्षित समस्या आउँछन् – कलाकारहरू संवाद बिर्सिन्छन्, प्राविधिक त्रुटि हुन्छ, मञ्चको सामान भुइँमा खस्छ, प्रप्स हराउँछन्, उल्टोपाल्टो सामान प्रयोगमा आउँछन्, सेट भाँचिन्छ। यसरी यो नाटक अपूर्णता र गडबडीको उत्सव बन्ने क्रममा दर्शकलाई हाँसो र मनोरन्जन पहिलो प्राथमिकता बन्न जान्छ। किनभने नाटकभित्रको नाटक शैलीमा स्लापस्टिक कमेडी ड्रामा प्रस्तुत हुन्छ।
यो नाटकले नाटकको अभ्याम्भर कथा पनि बताउँछ, जहाँ हामीले नाटक बनाउनका लागि आवश्यक संघर्ष, जुगाड, अभाव र त्याग देख्न सक्छौं। सामान्य रूपमा हामी पर्फेक्ट नाटक हेरिरहेका हुन्छौं, तर यहाँ पर्दा पछाडिको थिएटरको भित्री संघर्ष र प्रक्रिया देखाइन्छ। कलाकारहरूको अभिनय, टाइमिङ, संवाद, कथा प्रस्तुत गर्ने शैली र दर्शकलाई नाटकको सक्रिय हिस्सा बनाउने पक्षहरू ‘ग्रान्ड रिहर्सल’का महत्वपूर्ण पक्ष हुन्। तथापि, नाटकमा लामो समय एउटै घुम्ती दोहोरिएको महसुस हुन्छ – ‘बिहेको टुटुल्को’ मञ्चन गर्दा निरन्तर समस्या देखिन्छ जसलाई दर्शकहरू पहिले नै थाहा भएका कारण नयाँपन कम हुन्छ। यसले गर्दा नाटक केही सुस्त र लामो अनुभूति हुन्छ। अर्कातिर, जीवन र रंगमञ्च दुवैमा हामी पूर्णताको सपना देख्छौं तर वास्तविकता भने गडबडी, असफलता र सुधारकै समिश्रण हो। नाटकले भन्छ – मान्छेको प्रयास र भाग्यबीच रहेको खेल कहिल्यै समाप्त हुँदैन। त्यस अव्यवस्थालाई स्वीकार गर्दा मात्रै साँचो आनन्द मिल्छ। त्यो खेललाई हाँस्दै हेर्दा जीवन सजिलो र हल्का हुन्छ।
तस्वीर : प्रसुन संग्रौला।






