
नेपाल निर्माण व्यवसायी महासंघले प्रतिष्ठित निर्माण व्यवसायीमाथि प्रहरीले निरन्तर धरपकड तथा थुनछेक गरिरहेकोमा आपत्ति जनाएको छ। महासंघका महासचिव शिवहरि घिमिरेले धरपकडलाई गैरकानुनी ठहर गर्दै संविधानले सम्मानपूर्वक जीवन यापन गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराएका छन्। महासंघले सरकारले बिना ठोस आधार धरपकड जारी राखे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ। २९ वैशाख, काठमाडौं।
देशका प्रतिष्ठित अग्रणी निर्माण व्यवसायीमाथि प्रहरीले निरन्तर धरपकड र थुनछेक गरिरहेको विषयमा नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाए। महासंघका महासचिव शिवहरि घिमिरेले मंगलबार विज्ञप्ति निकालेर प्रहरी प्रशासनको यस्तो व्यवहार निन्दनीय भएको बताएका छन्।
इन्धन तथा निर्माण सामग्रीको अप्रत्याशित तथा अत्याधिक मूल्य वृद्धिका कारण सरकारले समयमै मूल्य समायोजन नगरेको अवस्थामा निर्माण कार्यहरू सञ्चालन गर्न कठिन भएको छ। यस्तो अवस्थामा निर्माण व्यवसायीलाई आर्थिक तथा मानसिक दबाबमा राखेर गरिएको धरपकडप्रति महासंघले कडा असन्तोष व्यक्त गरेको छ। अहिलेको जटिल परिस्थितिमा निर्माण व्यवसायीलाई राहत दिनुको सट्टा सार्वजनिक खरिद ऐन, नियम र सम्झौताका विपरीत गरिएका धरपकडहरू गैरकानुनी भएको महासंघले जनाएको छ।
“अनुसन्धानपछि दोषी प्रमाणित भए जो कोही पनि प्रचलित ऐन र कानुन अनुसार दण्डित हुनैपर्छ भन्ने मान्यता महासंघको रहेको छ। तर नेपालको संविधानले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको र कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था रहेको कुरा महासंघले सबैलाई स्मरण गराउन चाहन्छ,” विज्ञप्तिमा भनिएको छ। निर्माण उद्योग लगायत निजी क्षेत्रका उद्यमीहरूलाई त्रसित र आतंकित बनाइएकोले अर्थतन्त्र, रोजगार, राजस्व र पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने महासंघको ठहर छ। सरकारले अब फेरि निर्माण व्यवसायीमाथि कुनै ठोस आधार तथा प्रमाणविना धरपकड र थुनछेक गरेमा महासंघ कडा कदम चाल्न बाध्य हुनेछ, विज्ञप्तिमा उल्लेख गरिएको छ।






