गुजरात टाइटन्सले हैदराबादलाई पराजित गर्दै आईपीएल २०२६ मा शीर्ष स्थान कब्जा गर्याे

गुजरात टाइटन्सले आईपीएल २०२६ मा सनराइजर्स हैदराबादलाई ८२ रनले हराउँदै शीर्ष स्थानमा आएका छन्। गुजरातले दिएको १६९ रनको लक्ष्य हैदराबादले केवल ८६ रनमै अलआउट भएर पुरा गर्न सकेन। कगिसो रबाडा र जेसन होल्डरले ३-३ विकेट लिएर गुजरातको जीतमा महत्वपूर्ण योगदान पुर्याए।
२९ वैशाख, काठमाडौं। गुजरात टाइटन्स इंडियन प्रिमियर लिग (आईपीएल) २०२६ को शीर्ष स्थानमा पुगेको छ। मंगलबारको खेलमा सनराइजर्स हैदराबादमाथि ८२ रनको प्रभावशाली जित निकाल्दै गुजरातले प्लेअफमा स्थान लगभग सुनिश्चित गरेको छ। गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको हैदराबाद ८६ रनमै अलआउट भयो। हैदराबादले खेलमा कुनै बेला पनि पकड बनाउन सकेन। कप्तान प्याट कमिन्सले सर्वाधिक १९ रन बनाए। सलिल अरोराले १६, हेनरिक क्लासेनले १४ र इशान किशनले ११ रन बनाए।
गुजरातका लागि कगिसो रबाडा र जेसन होल्डरले ३-३ विकेट लिए भने प्रसिद्ध कृष्णाले २ विकेट लिए। मोहम्मद सिराज र राशिद खानले १-१ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनायो। साइ सुदर्शनले ६१ र वासिङ्टन सुन्दरले ५० रन बनाए। हैदराबादका लागि प्रफुल हिंगे र साकिब हुसेनले २-२ विकेट लिए भने प्याट कमिन्सले १ विकेट लिए। योसंगै गुजरातले लगातार पाँचौं र कुलमा आठौं जित निकाल्दै १२ खेलमा १६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने हैदराबाद १२ खेलमा १४ अंक लिएर तेस्रो स्थानमा छ।






