Skip to main content
लोक दोहोरीमा छाडा शैली प्रयोग भएको भन्दै साइबर ब्युरोमा उजुरी

लोक दोहोरी गीतमा छाडा शैलीको प्रयोगको बिरुद्ध साइबर ब्यूरोमा उजुरी

३० वैशाख, काठमाडौं। लोक दोहोरी गीतमा छाडा शैलीको प्रयोग भएको आरोपमा नेपाल प्रहरीले सञ्चालन गर्ने साइबर ब्यूरोमा उजुरी दर्ता भएको छ। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लाइभ दोहोरी गीतमा छाडा संस्कृति फैलिएको भन्दै उजुरी दर्ता गराएको हो। लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले एक जना गायक र एक जना गायिकाविरुद्ध किटानीसहित उजुरी दिएका छन्। सचिव सरगमका अनुसार, गायक प्रकाश अधिकारी र गायिका कोपिला छिनाललाई पक्राउ गरी कारबाहीको माग गरिएको छ। अधिकारी र छिनालले गाएको गीत केही दिनअघि मात्र यूट्युबमा सार्वजनिक गरिएको थियो। सो गीतमा छाडापनको चरम सीमा रहेको भन्दै व्यापक आलोचना भइसकेको थियो। व्यापक आलोचनापछि उक्त गीत केही घण्टाभित्र यूट्युबबाट हटाइएको थियो।
‘गीतभित्र प्रयोग भएका अधिकांश शब्दहरू दोहोरो अर्थ बोकेका, अश्लील झल्काउने तथा सामाजिक मर्यादाविपरीत रहेका छन्,’ उजुरीमा उल्लेख गरिएको छ, ‘त्यसैगरी, दोहोरी प्रस्तुतिमा महिलाको भित्री पहिरन देखाउँदै गरिएका हाउभाउ, संवाद र दृश्यहरूले नेपाली समाज, पारिवारिक वातावरण र युवा पुस्तामाथि नकारात्मक प्रभाव पार्ने देखिएको छ।’ सचिव सरगमले लोक संगीतलाई नेपालको सांस्कृतिक पहिचानका रूपमा जोडदार उल्लेख गर्दै यस विधामा कसैले पनि अश्लीलता फैलाउन नपाउने बताए। ‘भाइरल हुने लोभमा यस्तो छाडा हर्कत गर्न कसैलाई छुट छैन, यसमा प्रहरीले आवश्यक कारबाही गर्ने विश्वास लिएका छौं,’ उनले भने।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ