राजस्व चुहावटको मुद्दामा ३ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

३० वैशाख, काठमाडौं। राजस्व चुहावटको मुद्दामा तीन करोडभन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–३१ का प्रविन्द साह गोढलाई बुधबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रहरीका अनुसार, गोढविरुद्ध पर्सा जिल्ला अदालतले राजस्व चुहावट मुद्दामा ६ महिनाको जेल सजाय र तीन करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवाना तोकेको थियो। फैसलापछि उनी फरार भएर विभिन्न स्थानमा लुकिछिपी बसेको प्रहरीले जनाएको छ। पक्राउ परेपछि उनलाई पर्सा जिल्ला अदालतमा बुझाइएको पर्सा प्रहरीका सूचना अधिकारी डीएसपी हरिवहादुर बस्नेतले जानकारी दिएका छन्।






