Skip to main content

अमेरिका-चीन शिखर वार्तामा ताइवानको गम्भीर चासो

बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच हुने उच्चस्तरीय वार्तामा ताइवानले निकै ध्यान दिएको छ। अमेरिकी र ताइवानबीच औपचारिक कूटनीतिक सम्बन्ध नहुँदा पनि ठोस अनौपचारिक सम्बन्ध भएकाले ताइवानी नेतृत्वले यो भ्रमण र ट्रम्पका पछिल्ला अभिव्यक्तिहरूलाई सूक्ष्मतापूर्वक विश्लेषण गरिरहेको छ। अमेरिकी सञ्चारमाध्यम फक्स न्युजसँगको संवादमा राष्ट्रपति ट्रम्पले स्पष्ट पारेका छन् कि अमेरिका युद्ध चाहँदैन। उनले भने, हालको अवस्था कायम रहँदा चीन पनि सन्तुष्ट हुने विश्वास छ भने, अमेरिकाको समर्थन हुन्छ भन्ने आधारमा कसैले एकपक्षीय रूपमा स्वतन्त्रता घोषणा गर्नु उचित नभएको बताए। ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका छन्, ‘म कसैलाई स्वतन्त्र भएको हेर्न चाहन्न। तपाईंलाई थाहा छ, हामीलाई युद्घका लागि ९,५०० माइल यात्रा गर्नुपर्छ, म यस्तो अवस्था खोजिरहेको छैन। म चाहन्छु, उनीहरूले शान्ति कायम राखून् र चीन पनि शान्त रहोस्। हामी युद्ध चाहँदैनौँ, र यदि अहिलेको जस्तो स्थिति कायम रह्यो भने मलाई लाग्छ चीन पनि सन्तुष्ट हुनेछ। तर म चाहन्न कि कसैले आएर भनून्, “अमेरिकाले हामीलाई समर्थन गरिरहेको छ, त्यसैले आउ न स्वतन्त्रताको घोषणा गरौँ।”’

ट्रम्पका यी अभिव्यक्तिप्रतिको प्रतिक्रियामा ताइवानका उप-विदेशमन्त्री चेन मिङ-चीनले शनिवार व्यक्त गर्दै भनेका छन् कि ट्रम्पका भनाइहरूको अर्थ बुझ्न ताइवानलाई अझ स्पष्टता चाहिन्छ। उनले थपे कि ताइवानलाई अमेरिकी हतियार बिक्री गर्न अमेरिकी कानुनले अनुमति दिएको छ र ताइवान–अमेरिका हतियार सम्झौता सधैं क्षेत्रीय शान्ति र स्थिरताको आधारशिला रहँदै आएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति लाईकाका प्रवक्ताले पनि अमेरिकी हतियार बिक्री ताइवानप्रतिको अमेरिकी सुरक्षा प्रतिबद्धताको भाग भएको र यसले क्षेत्रीय आक्रमणहरूको सामना गर्ने साझा प्रतिरोधमा सहयोग पुर्‍याउने बताएका छन्। ताइवानका विदेशमन्त्री लिन चिया-लुङले आफ्नो टोलीले अमेरिका-चीन शिखर वार्तामा निरन्तर नजर राखिरहेको र अमेरिका तथा अन्य मित्र राष्ट्रसँग राम्रो संवाद कायम गरेको जानकारी दिएका छन्।

उनीहरूले ताइवान क्षेत्र सधैं शान्ति र स्थिरताको रक्षक भएको उल्लेख गर्दै चीनले लिएको आक्रामक सैन्य कदम र सत्तावादी दमनले क्षेत्रीय खतरालाई बढाएको आरोप लगाएका छन्। ताइवानका अधिकांश नागरिकले चीनसँगको सम्बन्ध वर्तमान यथास्थितिमा कायम रहोस् भन्ने इच्छा राख्छन्। यसअघि पनि ताइवानको स्वतन्त्रतासम्बन्धी विषयमा अमेरिकाले आफ्नो अडान नरम बनाएको भन्दै चीनले कडा प्रतिक्रिया जनाएको थियो। सन् २०२५ को फेब्रुअरीमा अमेरिकी विदेश मन्त्रालयले आफ्नो वेबसाइटबाट वाशिङ्टनले ताइवानी स्वतन्त्रताको विरोध गर्ने पुरानो प्रतिबद्धता हटाउँदा चीनले तीव्र आपत्ति जनाएको थियो।