
भारतले १८ वैशाखदेखि लागू गरेको नयाँ एसओपी अनुसार नेपाली चियाको प्रत्येक खेपको ल्याब परीक्षण अनिवार्य भएपछि निर्यात पूर्णरूपमा ठप्प भएको छ। नेपालको उद्योग मन्त्रालय र दूतावासले भारतसँग निरन्तर कूटनीतिक पहल गरिरहेका छन् तर भारतीय पक्षले नयाँ नियममा कुनै छुट दिएको छैन। चिया व्यवसायीहरूले प्रधानमन्त्री बालेन्द्र शाहबाट उच्चस्तरीय राजनीतिक हस्तक्षेप गरी निर्यात अवरोध हटाउन आग्रह गरेका छन्। २ जेठ, काठमाडौं।
विगत दुई सातादेखी नेपालबाट भारततर्फ जाने चिया निर्यात पूर्णरूपमा ठप्प छ। भारतीय चिया बोर्डले १८ वैशाखदेखि लागू हुने गरी भारत आयात हुने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) जारी गरेपछि सिमानामा अवरोध कायमै छ। नयाँ निर्देशिका अनुसार भारत प्रवेश गर्ने नेपाली चियाको प्रत्येक ट्रक र खेपको छुट्टाछुटै प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गरिएको छ, जसले गर्दा नेपाली चिया उद्योगी, व्यवसायी र किसानहरू ठूलो मारमा परेका छन्।
नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत निरन्तर कूटनीतिक पहल भइरहे पनि हालसम्म कुनै निष्कर्ष निस्किएको छैन। व्यवसायीहरूका अनुसार नेपाली दूतावासले भारतको वाणिज्य मन्त्रालय र भारतीय चिया बोर्डका अधिकारीहरूसँग नियमित संवाद गरी भारतलाई अवरोध खुलाउन आग्रह गरेको थियो। तर, भारतीय पक्षले आफ्नो नयाँ निर्देशिकालाई देखाउँदै तत्काल पुरानै अवस्थामा निर्यात सुरु गर्न स्वीकृति दिएको छैन।
कूटनीतिक र प्रशासनिक तहबाट भइरहेका यी प्रयासले सार्थकता नपाएपछि नेपाली चिया उद्योगी, व्यवसायी र किसानहरूमा अन्योल सिर्जना भएको छ। व्यवसायीहरूले प्रधानमन्त्री बालेन्द्र शाहबाट प्रत्यक्ष हस्तक्षेपको माग गरेका छन्। तल्लो तहको कूटनीतिक पहलले मात्र भारतले खडा गरेको नयाँ झमेला नसुल्झिने निष्कर्ष निकाल्दै व्यवसायीहरूले तत्काल ठोस र प्रत्यक्ष पहल हुनुपर्ने बताएका छन्।

