
वैज्ञानिकहरूले मानिसको आन्द्रामा पाइने सूक्ष्म कणहरूले उमेरसँगै शरीरमा हुने इन्फ्लामेसन र विभिन्न दीर्घकालीन रोगहरू निम्त्याउन महत्वपूर्ण भूमिका खेल्ने नयाँ तथ्य पत्ता लगाएका छन्। ‘मार्सल युनिभर्सिटी जोन सी. एड्वर्ड्स स्कुल अफ मेडिसिन’ मा गरिएको अध्ययनले मानिसको पाचन स्वास्थ्य, मेटाबोलिजम, रोग प्रतिरोधात्मक क्षमता र उमेर वृद्धिबाबीचको सम्बन्धलाई थप स्पष्ट पारेको छ। अनुसन्धानमा आन्द्राभित्र पाइने ‘ल्युमिनल एक्जोसोम्स’ भनिने सूक्ष्म कणहरू समावेश थिए। यी कणहरू कोषहरूले प्रोटिन र आनुवंशिक सामग्री व्यढाइर शरीरका अन्य भागहरूसँग सञ्चार गर्न प्रयोग गर्ने सूक्ष्म कणहरू हुन्।
‘एजिङ सेल’ जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार, उमेर पुगेका वा वृद्ध जीवहरूको आन्द्राबाट निकालिएका एक्जोसोम्सहरूमा इन्सुलिन प्रतिरोध, इन्फ्लामेसन र आन्द्राको सुरक्षात्मक तह (गट ब्यारेयर) लाई क्षति पुर्याउने सङ्केतहरू देखिएका थिए। वैज्ञानिकहरूले परीक्षणको क्रममा जब वृद्ध जीवहरूको आन्द्राबाट निकालिएका यी एक्जोसोम्सहरूलाई युवा जीवमा राखे, तब ती युवा जीवहरूले पनि वृद्ध उमेरमा देखिने मेटाबोलिक र इन्फ्लामेसन सम्बन्धी समस्याहरू अनुभव गरे। तर, यस अनुसन्धानको सबैभन्दा आश्चर्यजनक पक्ष अर्को परीक्षणमा देखियो। जब युवा जीवहरूबाट संकलन गरिएका एक्जोसोम्सहरूलाई उमेर पुगेका वृद्ध जीवहरूमा राखियो, तब ती वृद्ध जीवहरूमा उमेरसँगै देखिएका धेरै मेटाबोलिक समस्या कम भएका पाइए।
यसले आन्द्राको आन्तरिक वातावरणलाई स्वस्थ राख्न सके उमेरसँग जोडिएका रोगहरूबाट बच्न वा ती रोगहरूको असरलाई कम गर्न सकिने प्रबल सम्भावना देखाएको छ। अध्ययनले देखाएको छ कि आन्द्राको सुरक्षात्मक पर्खाल कमजोर हुँदा त्यहाँका हानिकारक तत्वहरू सजिलै रगतमा मिसेर क्रोनिक इन्फ्लामेसन निम्त्याउँछन्, जसले मुटुको रोग, कलेजो समस्या र मधुमेहजस्ता मेटाबोलिक रोगहरूको जोखिम अत्यधिक बढाउँछ। यस अनुसन्धानका मुख्य लेखक प्राध्यापक अब्देलनाबी खलिफाका अनुसार, बढ्दो जैविक उमेरसँग जोडिएका शारीरिक तनावहरूले रोग लाग्ने प्रक्रियालाई तीव्र बनाउने कुरा यस अध्ययनले पुष्टि गरेको छ। यो संयन्त्र बुझ्न सकेमा भविष्यमा उमेरसँगै लाग्ने रोगहरूको नयाँ र प्रभावकारी उपचार विधि विकास गर्न सजिलो हुने विश्वास छ। यो खोजले जैविक उमेर वृद्धिलाई सुस्त पार्न र दीर्घरोगबाट रक्षा गर्दै मानिसको जीवनकाललाई स्वस्थ बनाउने दिशामा ठूलो क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।

