Skip to main content

हरेक वर्ष ८० जनाले गुमाउँछन् ज्यान

सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा रहेका श्रीकृष्ण विकले सर्टको पासो लगाएर आत्महत्या गरेका थिए, जसमा प्रहरीको ड्युटीमा कमजोरी देखिएको छ। चालु आर्थिक वर्षमा नेपालका विभिन्न प्रदेशमा प्रहरी हिरासतमा ७ जनाको मृत्यु भइसकेको छ, जुन विगत वर्षको तुलनामा बढेको आंकडा हो। प्रहरी हिरासतमा मानसिक स्वास्थ्य सेवा अभाव र भौतिक संरचनाको कमजोरीले कैदी तथा हिरासतमा रहेका व्यक्तिहरूमाझ आत्महत्या जोखिम बढाएको मनोचिकित्सकहरूले बताएका छन्। ४ जेठ, काठमाडौं । श्रीकृष्ण विक गत ७ वैशाखमा सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा मृत भेटिए। उनी हिरासतको शौचालयमा आफ्नै सर्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए। हिरासतबाट सदरमुकामस्थित अस्पताल लगिएका श्रीकृष्णलाई चिकित्सकले मृत घोषणा गरेका थिए। १६ वर्षीया एक केशोरीसँग प्रेम विवाह गरेका उनीविरुद्ध बलात्कारको कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो। पक्राउ परेको चार दिनमै उनको मृत्यु भयो। श्रीकृष्णको हिरासत भित्रै मृत्यु भएपछि यो प्रकरणले राष्ट्रिय ध्यान आकृष्ट गरायो। सत्तारुढ दलकै सांसदले घटनास्थलमा पुगेर श्रीकृष्णको न्यायका लागि आवाज उठाए। त्यसपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले घटनाको छानबिनका लागि डीआईजी दिनेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरे। श्रीकृष्णले रहस्यमय तरिकाले हिरासतमा ज्यान गुमाएको भन्दै परिवारले शंका गरेपछि शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिईयो। पोस्टमार्टम रिपोर्टदेखि छानबिन समितिले प्रतिवेदन पनि बुझाइसकेको छ। प्रहरी स्रोतका अनुसार रिपोर्टमा मृत्युको कारण ह्याङगिङ उल्लेख गरिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार समितिको प्रतिवेदन अहिले गृह मन्त्रालयमा पठाइएको छ। प्रतिवेदनमा खुर्कोटका इन्चार्ज इन्स्पेक्टर वसन्त भुजेल र हिरासतको ड्युटीमा खटिएका प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाही सिफारिस गरिएको छ। खुर्कोटमै कार्यरत अन्य १० जना प्रहरीलाई ध्यानाकर्षण र सचेत गराइएको छ। प्रहरी हिरासतमा रहेका व्यक्तिले आत्महत्या गरे पनि त्यसमा प्रहरीको कमजोरी देखिएको जानकारहरूले बताएका छन्। हिरासतमा रहेका व्यक्तिहरू बाहिरभन्दा सुरक्षित हुनुपर्ने हुन्छ, किनभने बाहिर पीडित पक्षबाट आक्रमण हुने जोखिम रहन्छ। तर हिरासतमा हुँदा २४ सै घण्टा निगरानीमा हुने हुनाले सुरक्षित मानिन्छ। केन्द्रीय प्रवक्ता काफ्ले पनि हिरासत भित्र हुने मृत्यु वा आत्महत्या भए पनि त्यसमा ड्युटीमा कमजोरी भएको स्वीकार गरेका छन्। ‘प्रहरी हिरासतमा आएका व्यक्ति आत्महत्या गरे पनि त्यसो हुन नदिनु प्रहरीको जिम्मेवारी हो। कहिलेकाहीँ ड्युटी गर्नेको कमजोरी देखिएको छ, जसलाई सुधार गर्दै गएको छौँ,’ काफ्लेले भने।