मन्त्री नहुँदाहुँदै पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने नियमावली तयार पारीने

४ जेठ, काठमाडौं । मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने व्यवस्था सहित प्रतिनिधि सभा नियमावली परिवर्तन गर्न लागिएको छ। सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्दैछन्। उक्त मस्यौदा नियमावलीको नियम १७८ मा संसदीय विषयगत समितिहरूको काम, कर्तव्य र अधिकार सम्बन्धी प्रावधानहरू छन्।
नियम १७८ को उपनियम ४ अनुसार, ‘समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुनेछ। अन्य कार्यसूचीमाथिको छलफलमा आवश्यकताअनुसार मन्त्री अनिवार्य उपस्थित हुनुपर्नेछ।’ यसअघि संसदीय समितिका सबै बैठकहरूमा मन्त्री उपस्थित हुन अनिवार्य थियो। प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७८ को उपनियम ४ मा लेखिएको थियो, ‘समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुनेछ। अन्य कार्यसूचीमाथि समेत मन्त्री उपस्थित हुनुपर्नेछ।’ अब यसलाई परिमार्जन गरी ‘आवश्यकताअनुसार’ शब्द थप गर्ने काम भइरहेको छ।
यसले मन्त्री उपस्थित नहुँदाहुँदै पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने प्रणाली ल्याउन लागिएको अनुमान गरिएको छ। मन्त्रीको समय तालमेल नमिल्दा समितिको बैठक बस्न नसक्ने समस्या समाधान गर्न विधेयकमाथि हुने छलफलमा मात्र मन्त्रीको उपस्थिति अनिवार्य गर्ने गरी नियमावली बनाउन लागिएको रास्वपाका नेताहरूले बताएका छन्। यसले समितिका बैठकहरू अधिक प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत पुग्ने उनीहरूको विश्वास छ।

