
समाचार सारांश समीक्षा गरिएको सामग्री। नेकपा एमाले सचिवालय बैठक ४ जेठ दिउँसो ३ बजे भक्तपुर गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्नेछ। एमाले नेता झपट बहादुर रावलले चुनावी पराजयको निर्मम समीक्षा र पार्टी पुनर्गठनको माग राखेका छन्। सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक तत्काल बोलाउने र नेतृत्वको जवाफदेहिता सुनिश्चित गर्ने निर्णय गर्नुपर्ने बताइएको छ। ४ जेठ, काठमाडौं । नेकपा एमाले सचिवालय बैठक बस्दैछ। बैठक आज दिउँसो ३ बजे भक्तपुर गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्नेछ। बैठक अगाडि नेताहरूले केन्द्रीय कमिटी बैठक तुरुन्त बोलाउन माग राखेका छन्। एमाले नेता झपट बहादुर रावल भन्छन् कि २०८२ फागुन २१ मा सम्पन्न आम निर्वाचनपछिको ढिला अढाइ महिना बित्दा समेत पार्टीमा औपचारिक समीक्षा हुन नसक्नु र केन्द्रीय कमिटीको बैठक बस्न नसक्नुले एमालेभित्र मात्र होइन, देशैभरिका नेता, कार्यकर्ता र शुभचिन्तकहरूमा गम्भीर निराशा र आशंका पैदा गरेको छ। इतिहासकै नराम्रो पराजयका कारण पार्टीमा परेको सन्नाटामा सबै पंक्ति निःशब्द रहेको उल्लेख गर्दै उनले सचिवालय बैठकमा के कस्ता विषयहरू उठ्नुपर्छ र के कस्ता निर्णय हुनुपर्छ भन्ने चारवटा एजेन्डा प्रस्तुत गरेका छन्। १. चुनावी पराजयको निर्मम समीक्षा हामीले आम निर्वाचनमा व्यहोरेको लज्जास्पद हारको गहिरो र निर्मम समीक्षा यो बैठकको पहिलो र अनिवार्य विषय हुनुपर्छ। नेतृत्वले चुनावमा दाबी गरेको लोकप्रिय मत र वास्तविक नतिजाबीच किन ठूलो अन्तर आयो? नीति, विचार र चुनावी रणनीतिमा कहाँ त्रुटि भयो? यी प्रश्नको जवाफ नआएसम्म पार्टी अगाडि बढ्न सक्दैन। प्राविधिक विषयहरू वा कार्यविभाजन जस्ता सहायक एजेन्डालाई प्राथमिकता दिएर मुख्य राजनीतिक असफलता र हारको कारणबाट जोगिन खोज्नु योग्य नहोला। २. नीति र नेतृत्वमा पार्टी पुनर्गठनको माग निर्वाचन नतिजाले पार्टीको परम्परागत शैली र वर्तमान संगठनात्मक ढाँचालाई अस्वीकार गरेको छ। त्यसैले, जेठ ४ को बैठकले पार्टी पुनर्गठनको ठोस योजना बनाउनु आवश्यक छ। नवपुस्ताका विचार र जनभावना समेटेर साङ्गठनिक रुपान्तरण गर्ने साहस देखाउनुपर्छ। देशभरका लाखौं इमानदार कार्यकर्ताहरूले अब पुराना गल्ती दोहोर्याएर अघि बढ्न नसकिने स्पष्ट माग गरेका छन्। ३. नेतृत्वको जवाफदेहिता र नैतिक जिम्मेवारी कम्युनिस्ट पार्टीमा जवाफदेहिता र आलोचना–आत्मालोचना अत्यन्त महत्वपूर्ण पक्ष हुन्। चुनावी पराजयको मुख्य राजनीतिक र नैतिक जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्छ। नेतृत्वमा रहेका उनले नीति बनाउने, उम्मेदवार चयन गर्ने र चुनावी रणनीति निर्धारण गर्ने मुख्य जिम्मेवारीका कारण यस पराजयको मुख्य उत्तरदायी हुनुपर्नेछ। अध्यक्ष ओलीले कार्यकर्ता र पार्टीलाई स्पष्ट जवाफ दिनुपर्छ र जिम्मेवारी स्वीकार्दै आत्मालोचनासहित रुपान्तरणको साहस देखाउनुपर्छ। ४. केन्द्रीय कमिटी बैठक तुरुन्त बोलाउने निर्णय सचिवालय बैठक स्वयं सर्वोच्च निर्णय निकाय होइन, यसले केन्द्रीय कमिटी बैठकको एजेन्डा र वातावरण तय गर्नुपर्छ। त्यसैले ४ जेठको बैठकले लामो समयदेखि स्थगित केन्द्रीय कमिटी बैठक तुरुन्त बोलाउने निर्णय गर्नुपर्छ। सचिवालयका सीमित नेताहरूमा मात्र सिमित बहस नगरी सबै क्षेत्रका नेताहरूको आवाज सुन्ने र समावेशी पार्टी पुनर्गठनको बाटो खोल्नुपर्नेछ। एमालेका लाखौं कार्यकर्ता अहिले अन्योल र निराशामा छन्। जेठ ४ को सचिवालय बैठकले कार्यकर्ताको निराशालाई सकारात्मक ऊर्जा वा आक्रोशमा परिणत गर्नेछ। नेतृत्वको कार्यशैली र इमानदारीमाथि यो निर्भर गर्नेछ। प्राविधिक एजेन्डाको फेहरिस्त देखाएर मुख्य मुद्दा टाल्न खोजे पार्टी संकट झन गहिरो हुने निश्चित छ। म केन्द्रीय कमिटी सदस्यको नाताले कार्यकर्ताको भावना लिएर जोडदार माग गर्दछु– अब विलम्ब गर्न सकिँदैन, समीक्षा र पार्टी पुनर्गठनका एजेन्डामा छिट्टै प्रवेश गरौँ र एमालेलाई नयाँ जीवन दिनुहोस्।

