
समाचार स्वरूप सम्पादकीय समीक्षा सहित। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्ध १६ वटा उजुरी दर्ता भएका छन्। संसदीय सुनुवाइ समितिले ती उजुरी खोलेर सांसदहरूलाई वितरण गर्ने तयारी गरिरहेको छ। उजुरीकर्तासँग छलफलपछि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ गरिनेछ। ४ जेठ, काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीशको भोलि नै संसदीय सुनुवाइ हुने तय भएको छ। प्रधानन्यायाधीश पदमा सिफारिस भएका डा. मनोज शर्मा विरुद्ध १६ वटा उजुरी दर्ता भएका छन्। गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिन भित्र उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। तोकिएको समयमा १६ वटा उजुरी दर्ता भएका हुन्। प्राप्त उजुरी खोल्न बिहान ८ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ। सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार, उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ। ‘उजुरी खोलेर सांसदहरूलाई वितरण गरेपछि बिहान १० बजेदेखि उजुरीकर्तासँग छलफल हुदैछ,’ सभापति श्रेष्ठले भने, ‘त्यसपछि निरन्तर बैठक चल्दै प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हुनेछ।’

