
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड जेठ २० देखि २२ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेलमा प्रतिस्पर्धा हुनेछ। ४ जेठ, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड जेठ २० देखि २२ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका राखेप सदस्य–सचिव रामचरित्र मेहताको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। यसअघि वैशाख ६ देखि ८ गतेसम्म प्रतियोगिता हुने भनिएको थियो तर निर्धारित मितिभन्दा दुई साता पछि सारिएको हो। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेलहरूमा प्रतिस्पर्धा हुनेछ। बैठकमा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, सम्बन्धित खेलका राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकहरूको उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्दै सदस्य–सचिव रामचरित्र मेहताले प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउन विशेष जोड दिनुपर्ने बताए।

